८ महिना कैद सजाय तोकिए पनि दुई वर्षदेखि फरार अभियुक्त बल्ल प्रहरी नियन्त्रणमा
राजविराज — मंगलबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा शंकास्पद अवस्थामा मृत फेला परेकी दलित युवती तीन वर्ष पाँच महिना अघि यौन हिंसामा परेको खुलासा भएको छ। सुरुङ्गा–७ की उनी मंगलबार घरदेखि एक किलोमिटर टाढा पातपतिङ्गरले छोपिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको हत्या भएको भन्दै परिवारले बुधबार नै प्रहरीमा जाहेरी दिइसकेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाई अनुसन्धान थालिएको छ।
मंगलबार मृत भेटिएकी किशोरीमाथि २०७८ मंसिर १४ गते बलात्कारको प्रयास भएको थियो। आफ्नै घरनजिकको बाँसघारीमा स्थानीय ठाकुर थरका एक किशोरले कपडाले मुख थुनेर जबरजस्ती करणी गर्न खोज्दा होहल्ला भएपछि ती किशोर भागेका थिए। जानकारीपछि प्रहरीले २०७८ मंसिर २० गते ती किशोरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयले २०७८ मंसिर २३ गते जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान पश्चात सप्तरी प्रहरीले उनलाई प्रतिवादी बनाएर सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरी हिरासतमा १७ दिन बसेका ती किशोरलाई थुनछेकका लागि अदालत समक्ष पेस गर्दा नाबालक भएको भन्दै अदालतले परिवारको जिम्मा लगाउने आदेश दिएको सप्तरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
‘थुनछेकका लागि अदालतमा पेस गर्दा नाबालक ठहर भएकाले परिवारको जिम्मा लगाइएको थियो,’ डीएसपी बस्नेतले भने, ‘प्रहरी हिरासतमा १७ दिन रहेका उनलाई अदालतको आदेशअनुसार परिवारको जिम्मा लगाइएको हो।’
सो मुद्दामा २०७९ चैत २ गते सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले प्रतिवादीलाई ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। नाबालक ठहर भएकाले बाल सुधारगृहमा पठाउनुपर्ने भए पनि उनी दुई वर्षसम्म फरार रहेका थिए। अदालतको फैसला पछि फरार रहेका उनी मंगलबार किशोरीको मृत शरीर फेला परेपछि गाउँबाटै पक्राउ परेका छन्।
‘तत्कालीन अवस्थामा सजाय तोकिएका र पछिल्लो घटनामा पनि शंकास्पद रहेका ती किशोरलाई मंगलबार नै गाउँबाट नियन्त्रणमा लिएका छौं,’ सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने, ‘पुरानो सजायअनुसार बाल सुधारगृह पठाउनुपर्ने भए पनि नयाँ घटनामा समेत संलग्न हुनसक्ने भएकाले अनुसन्धान अघि बढाइएको छ।’
२०७८ मा यौन हिंसामा परेकी ती किशोरीको मंगलबार शंकास्पद अवस्थामा मृत शरीर फेला परेको हो। ‘त्यतिबेला सजाय पाएका किशोरले त्यस घटनाको रिस राखेका हुनसक्छन्,’ अनुसन्धान गरिरहेको प्रहरीले बतायो, ‘उनलाई शंकाको घेरामा राखेर अनुसन्धान भइरहेको छ।’
अदालतबाट सजाय तोकिएपछि फरार रहेका ती किशोर चितवनमा बस्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार एक साताअघिमात्र गाउँ फर्किएका थिए। ‘सजाय पाएर फरार रहेका उनी गाउँ फर्किएको एक साता नपुग्दै पीडित किशोरी मृत फेला पर्नुले शंका थप बलियो बनेको छ,’ प्रहरी स्रोतले बतायो, ‘किशोर नियन्त्रणमा आइसकेकाले थप विवरण आउँदै जान्छ।’
