यौन दुर्व्यवहारमा परेकी थिइन्, ४ महिनापछि मृत भेटिइन्

प्रहरीले ढिलोगरी जाहेरी दर्ता गरेको थियो भने पीडक पक्षले घटना गाउँमै मिलाउन दबाब दिएका थिए

वैशाख २, २०८२

विनय आजाद

Was sexually assaulted, found dead 4 months later

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी एक महिला मृत फेला परेकी छन् । २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

घटना मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, महेशपुर पतारले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा उनी छानोमा सल बेरेर पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । ‘घटना मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले कान्तिपुरसित भने, ‘यस विषयमा विस्तृत अनुसन्धान कार्य भइरहेको छ ।’

आनन्दी झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन् । उनी विवाहित हुन् । उनको २ वर्षकी एक छोरी पनि छन् । श्रीमान् भने वैदेशिक रोजगारमा छन् । छोरीसहित उनी पछिल्लो समय माइतमै बस्दै आएकी थिइन् ।

आनन्दी गत पुस ९ बिहान ११ बजे बरियारपट्टी गाउँपालिका-१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गाउँमै रहेको पोखरी हुँदै गन्तव्यतिर गइरहेकै बेला स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेका थिए । 

पीडित परिवारका अनुसार आनन्दीलाई उनीहरुले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर, नमान्दा उनीहरुले आनन्दीलाई छेउकै आँप बगैंचामा दुवै हात तान्दै लगेका थिए । त्यसपछि बगैंचामै रहेको परालमा लडाएर उनीहरुले कपडा च्यात्दै जबर्जस्ती करणी गर्न खोजेका थिए । 

तर, आनन्दीले प्रतिकार गरी उम्केएर रुँदै घर आइपुगेको आमा बिल्टौन देवी सदायले बताइन् । घटनालगत्तै सोही दिन अपराह्न बिल्टौनले छोरीलाई सँगै लगी इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिइकी थिइन् । तर, घटनाको अढाई महिनापछि फागुन २५ मा मात्रै प्रहरीले उनीहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको पाइएको छ । यसबीच पीडकका पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउन प्रयास गरेको पनि खुलेको छ ।

आमा बिल्टौनका अनुसार गाउँकै नरेन्द्र यादव लगायतका केही व्यक्तिले रकम लिएर गाउँमै मिलिहाल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिएका थिए । ‘उनीहरुले केही पैसा लिएर मिलिहाल भनेर हामीलाई धम्क्याउँथे,’ उनले भनिन्, ‘तर, हामीले नमान्दा उल्टै मुद्दा लगाउँछु भन्ने गरेका थिए ।’

आफूहरू मिडियामा जाने तयारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको मृतककी आमा बिल्टौनले सुनाइन् । ‘हामीले जाहेरी दर्ताका लागि प्रहरीमा पटकपटक गुहार्दा पनि दर्ता भएन, एकचोटि त प्रहरीले जाहेरी नै च्यातिदियो,’ उनले कान्तिपुरसित भनिन्, ‘तर, हामीले मिडियामा जाने तयारी गरेपछि मात्रै जाहेरी दर्ता गर्‍यो ।’

प्रहरीका अनुसार फागुन २६ मा आरोपितविरुद्ध सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको छ । तर, उनीहरू पक्राउ परेका छैनन् । आरोपितको घरमा प्रहरी पुग्ने गरेको भए पनि उनीहरु फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीको दाबी छ ।

यस्तै, आरोपित पक्षबाट आफूहरुलाई फसाइएको भन्ने कुरा आएपछि जाहेरी दर्ता गर्न समय लागेको मैनालीले दाबी गरे । ‘हामीकहाँ जाहेरी आएपछि आरोपितले फसाइएको कुरा गरे,’ मैनाली भन्छन्, ‘त्यसपछि अनुसन्धान गर्दा मुद्दा दर्ता गर्न समय लागेको हो ।’

मृतककी आमा बिल्टौनका अनुसार पीडकहरू गाउँमै बस्ने गरेको भए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको थियो । ‘हामीले न्याय माग्न प्रहरीकहाँ गयौं, तर प्रहरीले हामीलाई गन्दै नगनेको जस्तो व्यवहार देखाउँथ्यो,’ उनी सुनाउँछिन्, ‘दोषीलाई समाउनभन्दा पनि हामीलाई नै उल्टासिधा भन्थ्यो ।’

जसकारण आनन्दी चिन्तामा रहँदै आएकी थिइन् । ‘घटनापछि हामी प्रहरीमा त गयौं, तर प्रहरी हाम्रो लागि पनि हो भन्ने कुरा महसुस गर्न सकेनौं,’ बिल्टौनले सुनाइन्, ‘दोषीलाई कारबाही नहुँदा हामी समाजमा अत्याचार सहेर अनि लाज पचाएर बस्नुपर्ने स्थिति भयो ।’

प्रहरीले राजनीतिक दबाबमा पीडितलाई अल्झाएर निराश बनाएको र यसैकारण यो घटना निम्तिएको देखिएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनिल सदाको आरोप छ । यसमा प्रहरीको भूमिका निकै शंकास्पद देखिएको भन्दै उनले छानबिन गर्न माग पनि गरेका छन् । 

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully