पर्सा — जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरको मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार राति साढे ७ बजे देखि लगाइएको कर्फ्यु आइतबार मध्यराति १२ बजे अन्त्य भएलगत्तै स्थानीय प्रशासनले यो निषेधाज्ञा जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार राति सूचना जारी गर्दै वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । यसै क्षेत्रको दायरामा यसअघि कर्फ्यु लगाइएको थियो ।
सूचनामा शान्ति सुरक्षाको अवस्थाको विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षहरुसँगको आइतबारको सर्वपक्षीय बैठकमा भएको निर्णय समेतको आधारमा साबिकको कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन नपर्ने देखिएकोले आइतबार राति १२ बजेदेखि कर्फ्यु आदेश हटाइएको उल्लेख छ ।
साथै परिस्थिति पूर्णरुपमा सामान्य भइनसकेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि अर्को आदेश नभए सम्मका लागि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
वीरगन्जमा शनिबार भएको तनाव मत्थर गर्न आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेपछि वीरगन्जको अवस्था सुधारोन्मुख छ । आइतबार मध्यरातिदेखि कर्फ्यु हटेपछि सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । वीरगन्ज बजार सोमबार बिहानदेखि खुलेको छ ।
हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार वीरगन्जको छपकैंया क्षेत्रमा तनाव भएको थियो । झडपमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्रसहित १२, सशस्त्र प्रहरीका डिएसपी देवेन्द्रबहादुर सिंहसहित १६ र सर्वसाधारण १३ गरी ४१ जना घाइते भएका थिए ।
