'अघोषित लोडसेडिङ' हटाउन उद्योग-व्यावसायीको माग

चैत्र ३१, २०८१

शंकर आचार्य

Industry demands to eliminate 'unannounced load shedding'

पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा जारी अघोषित लोडसेडिङ हटाउन माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङ र बिनासूचना विद्युत् कटौतीप्रति संघले विज्ञप्तिमार्फत चिन्ता जनाएको हो । संघले समस्याको वैकल्पिक उपायको खोजी गर्न प्राधिकरणसँग माग गरेको छ । 

विज्ञप्तिमा उद्योग प्रतिष्ठानहरुको अक्सिजनको रुपमा रहेको विद्युतको नियमित आपूर्ति हुन नसकेकोबाट करिडोरका उद्योग आफ्नो निश्चित क्षमताभन्दा धेरै कम क्षमतामा सञ्चालन भइरहेको उल्लेख छ ।

‘आजभन्दा ५–६ वर्षअघि प्राधिकरणले घोषणा गरेको लोडसेडिङमुक्त औद्योगिक क्षेत्र तथा उज्यालो नेपालको नाराबाट उत्साहित उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपाली यताका दिनमा बढ्दो विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्तिको अभावका कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नुपर्दा उद्योगीहरु मर्कामा परेका छन् ।’ 

विद्युत् कटौतीका बेला डीजी सेटबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउदै गइरहेको उल्लेख गर्दै विज्ञप्तिमा साना उद्योगले विद्युत् कटौतीका बेला डीजी सञ्चालन गर्न नसक्ने भएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको उल्लेख छ ।  

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ भइरहेका कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थ नोक्सान भइरहेको समेत विज्ञप्तिमा भनिएको छ । यो समस्या समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समय गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने संघको धारणा रहेको विज्ञप्तिमा उल्लेख छ । 

संघले हिउँद मौसममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आइरहेकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully