कोशी नदीमा ‘पाइलट च्यानल’ खनेर बहाव फर्काउँदै भारत

चैत्र ३१, २०८१

विद्यानन्द राम

India diverts flow by digging 'pilot channel' in Koshi river

राजविराज — कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले ‘पाइलट च्यानल’ खनिरहेको छ । अहिले नदीमा ३०/३५ वटा स्काइपर (माटो काट्ने ट्याक्टर) र एउटा स्काभेटरको सहायताले ‘पाइलट च्यानल’ खनिरहेका छन् ।

तर, ठूलै लगानीमा खन्न लागेको ‘पाइलट च्यानल’ले पश्चिमी भू–भागमा बसोबास गर्ने नेपाली नागरिकमा भने बाढीको जोखिम थप बढ्ने चिन्ता थपिएको छ । 

भारतीय पक्षले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियाँस्थित नदीमा ‘पाइलट च्यानल’ बनाउन लागेको हो । ‘पूर्वी तटबन्धतर्फ प्राकृतिक रुपमा बग्ने गरेको मुख्य भंगालोलाई पश्चिमी तटबन्धतर्फ धकेल्ने उद्देश्यले भारतीय पक्षले यहाँ च्यानलाइज गर्दैछन्,’ हनुमाननगर कंकालिनी नगरपालिका–१४ का वडाध्यक्षसमेत रहेका कृष्ण यादवले भने, ‘यसले नेपाली भूमिका आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा पर्ने निश्चित छ ।’

उनका अनुसार नदीको बीचबाट ‘पाइलट च्यानल’ खन्नुपर्नेमा पश्चिमी किनारबाट खनिरहँदा तटबन्ध भत्किने र यसले टिकुलियाँ, बनरझुला, डल्बा, रम्पुरा लगायतका बस्ती बाढीको उच्च जोखिममा पर्ने खतरा बढाएको छ । चैत १३ गतेदेखि सुरु भएको ‘पाइलट च्यानल’ खन्ने कार्यमा स्थानीय बासिन्दाले अवरोध समेत गरेका थिए । अवरोधपछि सात दिन नदीमा खन्ने काम पनि रोकियो । गत बुधवार दिनदेखि पुनः ‘पाइलट च्यानल’ खन्ने कार्यलाई तीव्रता दिइएको छ ।

India diverts flow by digging 'pilot channel' in Koshi river

तर, निर्माण कम्पनीका प्रतिनिधि भने सो कार्यबारे जानकारी दिन मान्दैनन् । सो स्थलमा सुमनकुमार मेहता र सत्रुधनप्रसाद मण्डल गरी निर्माण कम्पनीका दुई जना नेपाली प्रतिनिधि छन् । उनीहरुले सो कार्यको विस्तृत जानकारी नै नरहेको बताउँछन् । ‘के–कति बजेट छ र कति किलोमिटर पाइलट च्यानल खन्नुपर्ने हो ? त्यो हामीलाई थाहा हुँदैन,’ मेहताले भने, ‘माथिबाट भनेअनुसार हामीले काम गर्ने हो ।’ उनीहरुकाअनुसार पनि पूर्वी बहावलाई पश्चिमतर्फ फर्काउन सो ‘पाइलट च्यानल’ खनिरहेका छन् । 

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले ‘पाइलट च्यानल’ निर्माण भइरहेको विषयमा आफूसँग कुनै समन्वय नभएको बताए । ‘त्यो विषयमा मलाई जानकारी छैन्, भारतीय पक्षले कोसीमा काम गर्दा हामीलाई कहिले पनि समन्वय वा जानकारी गराउँदैन,’ उनले भने, ‘म स्थलगत पुगेर हेर्छु नै, सर्वसाधारणमाथि जोखिम थपिने काम कहिकत्तै हुनुभएन ।’ 

भारततिर जोखिम कम गर्ने प्रयास

बहुचर्चित कोशी सम्झौताअनुसार ब्यारेज, तटबन्ध लगायतका संरचनाको मर्मत–सम्भार गर्ने जिम्मेवारी भारतीय पक्षको हो । तर, उनीहरुले ठोस् तटबन्ध बनाउनुपर्नेमा मर्मतका नाममा बोरामा बालुवा हालेर थुनछेक गरेरै काम चलाइरहँदा बर्सेनि स्थानीय बासिन्दा जोखिम मोलेर बस्न बाध्य छन् भने पूर्वी तटबन्धमा अझ जोखिम कायमै रहँदा भारत बिहार राज्यका अररिया, सहर्सा, सुपौल, पूर्णियासहितका भू–भाग डुबानमा पर्नसक्ने खतरा छ । 

भारततर्फको जोखिम कम गर्न नै ती ‘पाइलट च्यानल’ खन्न लागिएको हो । ‘पाइलट च्यानल’ पनि डेढ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्माण कम्पनीका प्रतिनिधि नै बताउँछन् ।

India diverts flow by digging 'pilot channel' in Koshi river

परियोजनाका विराटनगरस्थित सम्पर्क कार्यालयका सह भू–आर्जन सम्पर्क अधिकृत चैतन्य सिटौलाले आफूहरुसँग समन्वय भएरै ‘पाइलट च्यानल’ खन्ने कार्य भइरहेको बताए । 

तर, कति किलोमिटरसम्म ‘पाइलट च्यानल’ खन्ने, चौडाई र गहिराई कति हुने विषयमा उनी स्पष्ट छैनन् । ‘मैले पनि स्टिमेट नै हेर्नुपर्छ, मंगलबार अफिस पुगेर हेरेपछि मात्र भन्न सक्छु’, उनले भने । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपालतर्फका सिँचाइ विभाग र भारतीय पक्षबीच छलफल भइ सो निर्माण कार्य अघि बढाएको विषय जानकारीमा आएको बताए । ‘म त्यहाँ पुगेको छैन, एक–दुई दिनमा हामी स्थलगत निरीक्षणमा जान्छौं’, उनले भने ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully