वीरगन्जमा कर्फ्यु उल्लंघन गर्ने ४० जना प्रहरीको नियन्त्रणमा

चैत्र ३१, २०८१

शंकर आचार्य

40 curfew violators in Birganj under police custody

पर्सा — आइतबार बिहान कर्फ्यु उल्लंघन गर्ने ४० जनालाई वीरगन्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोरले बताएका छन् । 

शनिबारदेखि तनावग्रस्त वीरगन्जमा लगाइएको कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार बिहान ११ बजे सूचनामार्फत शनिबार बेलुका ६ः३० देखि आइतबार मध्याह्न १२ बजे सम्मका लागि जारी गरेको कर्फ्युलाई आइतबार राति १२ बजेसम्मका लागि निरन्तरता दिएको जनाएका छन् ।

वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर पावरहाउस चोक र दक्षिण शंकराचार्य गेटभित्रको क्षेत्रमा मात्र कर्फ्यु लगाइएको छ । शनिबार जारी गरिएको कर्फ्यु आदेशमा उत्तरमा गण्डक चोक कायम गरिएकोमा आइतबार त्यसलाई छोट्याएर पावरहाउस चोक बनाइएको हो । 

हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार वीरगन्जको छपकैया क्षेत्रमा तनाव भएको थियो । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी ४१ जना घाइते भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । घाइते सबै अस्पतालबाट डिस्चार्ज भइसकेको उनले बताए । 

झडपको क्रममा छपकैया क्षेत्रमा एउटा पसल पूर्णरुपमा र अर्को आंशिक क्षति भएको छ । ४ वटा मोटरसाइकल पूर्णरुपमा जलेका छन । ४ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । सेफर वीरगन्जका केही सिसिटिभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन् । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully