जसपा नेपालको जिल्ला कार्यालय सप्तरीमा ताला

चैत्र २८, २०८१

अवधेशकुमार झा

Jaspa Nepal District Office Saptari Locked

राजविराज — जनता समाजवादी पार्टी नेपालको सप्तरी जिल्ला कार्यालयमा पार्टीका युवा, विद्यार्थीहरुले बिहीबार दिउँसो ताला लगाएका छन् ।

वडा अधिवेशनको क्रममा विष्णुपुर गाउँपालिका-१ को परसाहिमा बिहीबार विवाद हुँदा दुई पक्षबीच कुटाकुटको स्थिति भएको थियो । त्यसक्रममा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र  समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन् । दुवैजनाको टाउकोमा चोट लागेको छ । 

उक्त घटनापछि युवा, विद्यार्थीहरुले राजविराजस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । पार्टीका जिल्ला उपाध्यक्ष एवं विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादवले कुटपिट गराएको आरोप लगाउँदै यादवलाई पार्टी जिल्ला उपाध्यक्ष पदबाट निलम्बन गर्नुपर्ने, नैतिकताका आधारमा उनले पालिका अध्यक्षबाट राजीनामा दिनुपर्ने युवा विद्यार्थीहरुको माग छ ।

समाजवादी विद्यार्थी युनियनका सप्तरी अध्यक्ष श्यामकुमार यादव र समाजवादी युवा संघका जिल्ला उपाध्यक्ष सिकेन्द्रकुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रबारका लागि तोकिएको पालिका अधिवेशन स्थगनको मागसमेत गरेका छन् ।

जसपा नेपाल सप्तरीका अध्यक्ष यादवले पार्टी कार्यालयमा युवा, विद्यार्थीले तालाबन्दी गरेको भन्दै समस्या समाधानको प्रयास भइरहेको बताए ।

अवधेशकुमार

Link copied successfully