जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दैछन् । साढे १० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा उत्रिएर प्रधानमन्त्री ओली सिधैं प्रदेशसभाको बैठकमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्न लागेको यो दोस्रो पटक हो । मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि प्रधानमन्त्री रहेका ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीको विशेष सम्बोधन रहेको कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले मंगलबार बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन मात्र कार्यसूचीमा राखिएको बताए । प्रधानमन्त्री ओलीको विशेष सम्बोधन हुने मधेश प्रदेशसभालाई फूल मालाले सजाइएको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।
मधेश प्रदेशसभाको विशेष सम्बोधन गरेपछि प्रधानमन्त्री ओली हेलिकोप्टरमै सिराहा पुग्नेछन् । त्यहाँ उनी दुई वटा कार्यक्रममा सहभागी भएर अपराह्न संघीय राजधानी काठमाडौं फर्किनेछन् ।
