प्रयोगको यकिन नै नगरी किनेको विषादी गोदाममै थन्कियो, लामखुट्टे मार्ने विषादी छर्किदिन वडाध्यक्षहरुको गुहार

चैत्र २७, २०८१

अवधेशकुमार झा

Pesticides bought without being sure of use were stored in the warehouse, requests of ward presidents to spray mosquito killers

राजविराज — सरसफाइ अभाव र खुला नालाका कारण गर्मी सुरुआतसँगै सप्तरीको राजविराज क्षेत्रमा लामखुट्टेको बिगबिगी बढेको छ । राजविराज नगरपालिका–४ का वडाध्यक्ष दिनेशकुमार साहले पटक–पटक नगरपालिकामा पत्राचार गरी लामखुट्टे नियन्त्रणको विषादी छर्किदिन आग्रह गरे । 

अन्य वडाका अध्यक्ष पनि लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कन आग्रह गरिरहेका छन् । गोदाममा गत वर्ष खरिद गरेको २१ लाख ६१ हजार ७ सय ८० रुपैयाँको छर्कने मेसिन र विषादी थन्क्याएर राखे पनि नगरपालिकाले छर्किरहेको छैन ।

नगरपालिकाले अहिले आएर उक्त विषादी प्रयोग गर्न मिल्ने/नमिल्नेबारे स्वास्थ्य कार्यालयको सल्लाह लिइरहेको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविण भन्छिन्,‘हामीले खरिद गरेको औषधि छर्कन मिल्ने हो वा नमिल्ने हो, यसबारे स्वास्थ्य कार्यालयलाई सोधका छौं, त्यहाँबाट जवाफ आएपछि मात्रै केही भन्न सक्छु ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले खरिद गर्ने बेला प्रयोगको यकिन नगर्नु गल्ती भएको बताए । ‘औषधि छर्कन मिल्ने खालको छ कि छैन भन्ने कुरा खरिद भन्दा पहिला नै यकिन गर्नुपर्ने हो, अब खरिद भएर स्टोरमा भएपछि छर्कन मिल्ने वा नमिल्ने विषयमा स्वास्थ्य कार्यालयलाई सोध्नु बाध्यतात्मक परिस्थति छ,’ उनले भने । 

राजविराज नगरपालिकाले २०८०/८१ को नगरस्तरीय योजना अन्तर्गत लामखुट्टे मार्ने मेसिन तथा विषादी खरिद शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । २०८१ जेठ १८ मा राजविराजको न्यू खान अटो मोबाइल्स एण्ड इलेक्ट्रोनिक्ससँग लामखुट्टे मार्ने विषादी र छर्कने मेसिन खरिदका लागि सम्झौता गरेको थियो । 

नगरपालिकाले उपलब्ध गराएका कागजात अनुसार बोलपत्र कबोल गर्ने न्यू खान अटोमोबाइल्स एण्ड इलेक्ट्रोनिक्सले उपलब्ध गराएको मेसिन र विषादी २०८१ असार ६ गते स्टोरमा दाखिला गरिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ६ लाख ३७ हजार दरका दुई वटा भेइकल माउन्टेड एसएसइ १२०० थर्मल फोगर मेसिन खरिद गरिएको कागजातमा देखिन्छ । 

यस्तै भ्याटबाहेक ९८ हजार दरका दुई वटा सोल्डर माउन्टेड एसएसइ ६५० थर्मल फोगर मेसिन पनि खरिद गरिएको छ । योसँगै मोस्किटो किलर डेल्टामेथ्रिन १२५ प्रतिशत युएलभी झोल १ सय ६७ दशमलव २ लिटर खरिद गरिएको थियो । २ हजार ६ सय ५० रुपैयाँ लिटरका दरले यो विषादीको ५ लाख ६ सय ८० रुपैयाँ भुक्तानी दिइएको छ । 

लामखुटे मार्ने मेसिन र विषादी खरिद योजनाको २०८१ असार ६ गते कार्यवाहक नगरप्रमुख परविण, इन्जिनयर अशोककुमार दास र स्टोरप्रमुख आलम खानले अनुगमन गरी सामान दुरुस्त रहेको प्रतिवेदन पेश गरेका छन् । सोही दिन स्टोर दाखिला भई भुक्तानीका लागि टिप्पणी आदेश समेत भएको थियो ।

टिप्पणी आदेशपछि असार १७ गते न्यू खान अटोमोबाइल्स एण्ड इलेक्ट्रोनिक्सलाई २० लाख ५८ हजार ६ सय ८४ रुपैयाँको चेक दिइएको थियो । गत वर्ष खरिद गरेको मेसिन र विषादी नगरपालिकाको गोदाममा थन्काइएको छ । उक्त खरिद प्रक्रियाबारे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निरन्जनप्रसाद यादवले आफू बेखबर रहेको रहेको बताए ।

‘हाम्रो शाखासँग समन्वय गरेर खरिद गरिएको छैन, स्वास्थ्य शाखाको स्टोरमा सामान पनि छैन, नगरपालिकाको मूल स्टोरमा राखिएको होला । खरिद प्रक्रियाका बेला नै हाम्रो शाखासँग समन्वय गरिएको भए अहिलेको अवस्था आउदैनथ्यो,’ उनले भने,‘यो विषादी खरिद प्रक्रियासँग हाम्रो कुनै सल्लाह वा जानकारी छैन ।’

नगरपालिकाका विभिन्न वडामा लामखुट्टेबाट समस्या हुन थालेपछि प्रमुख प्रशासकीय अधिकृत डा. साहले मौज्दात रहेको विषादी र छर्कने मेसिनबारे सोधीखोजी गरेका थिए । ‘लामखुट्टेको समस्याबारे धेरै ठाउँबाट कुरा आएपछि विषादी छर्कने सोच बनाए,’ उनले भने, ‘आफ्नै स्टोरमा मेसिन र विषादी भए पनि छर्कन मिल्ने खालको भए/नभएको यकिन नभएपछि स्वास्थ्य कार्यालयलाई सोधेका छौं ।’ 

नगरपालिकाले गत चैत १० गते जिल्ला स्वास्थ्य कार्यालय सप्तरीलाई पत्राचार गर्दै डेल्टामेथ्रिन १२५ प्रतिशत युएलभी झोल छर्किन मिल्ने/नमिल्ने, मानव स्वास्थ्यका लागि हितकारी रहे/नरहेको तथा छर्कन मिल्ने भए पूर्वतयारीलगायतका विषयमा स्पष्ट खुलाइदिन आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले यो विषादी खरिद गर्नुअघि नै नगरपालिकाले सल्लाह गर्नुपर्नेमा त्यसो नगरेको बताए । ‘खरिद गरेर हामीलाई पत्राचार गरी प्रयोग गर्न मिल्ने वा नमिल्ने भनेर सोध्नुभएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने,‘यहाँ जिल्लास्तरमा हामीसँग पनि विशेषज्ञ नरहेका कारण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सोधेका छौं ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चन्द्रलाल झाले यस विषयमा आफूले बुझेर बताउने जानकारी दिए ।

अवधेशकुमार झा

Link copied successfully