भुस जलाउने क्रममा शरीरमा आगो लाग्दा महिला गम्भीर

सप्तरीको कञ्चनरूप र खड्गमा पनि आगलागी

चैत्र २३, २०८१

अवधेशकुमार झा

A woman is seriously injured when her body catches fire while burning chaff

राजविराज — बारीमा भुस जलाउने क्रममा शरीरमा आगो लाग्दा यहाँकी एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार दिउँसो रूपनी गाउँपालिका–६ का सत्यनारायण साहकी श्रीमती ५० वर्षीया अमलादेवीको शरीरमा आगो लाग्दा गम्भीर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्र बस्नेतका अनुसार आफ्नै खेतवारीमा भुस जलाउने क्रममा साडीमा आगो लागेर उनको शरीरमा आगो लागेको थियो । शरीरको ४५ प्रतिशत भाग आगोले पोल्दा उनी गम्भीर घाइते भएकी र उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । 

यसै गरी कंचनरूप नगरपालिका र रूपनी गाउँपालिकामा पनि शनिबार दिउँसो आगलागी हुँदा चारवटा घर र एउटा फर्निचर पसल जलेर नष्ट भएका छन् । 

कञ्चनरूप नगरपालिका–१० भडाहामा शनिबार दिउसो सवा ४ बजे आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका हुन् । स्थानीय भरत साहको टिनको छानो भएको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको टिनको छाना भएको घर, भान्सा, गोठ र बैठक कोठा पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

घरमा आगो लाग्दा २ लाख १५ हजार रुपैयाँ नगद, ५० तोला चाँदीका गरगहना, डेढ तोला सुनका गहना, अन्नपात, तीनवटा साइकल र लत्तापकडा सहित अन्य सरसामान जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको डीएसपी काफ्लेले जनाए । वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

यस्तै खड्ग नगरपालिका–८ मा रहेको नगेन्द्र चौधरीको फर्निचर पसलमा पनि शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट उनको फर्निचर पसल जलेर नष्ट भएको छ । शम्भुनाथ नगरपालिकाको वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको थियो ।

अवधेशकुमार

Link copied successfully