सिरहा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन नटेरी खुलेका मिर्चैयाका अवैध अस्पताल प्रहरीले फेरि बन्द गराएको छ । मुख्यमन्त्रीद्वारा बन्द गराइएका १३ वटै अस्पताल पुनः निर्वाध सञ्चालन हुन थालेपछि प्रहरीले बन्द गराएको हो ।
कान्तिपुरमा समाचार प्रकाशित भएलगत्तै सोमबार साँझ प्रहरी अस्पतालहरूमा पुगेको थियो । प्रहरी पुगेपछि अधिकांश सञ्चालकहरू अस्पताल धमाधम बन्द गर्दै टाप कसेका थिए । ती अस्पतालहरूलाई निर्देशनको अवज्ञा गरे कारबाही गर्ने चेतावनी दिइएको छ ।
'हामी साँझ बन्द गराइएका सबै अस्पतालमा पुगेका थियौं, त्यसक्रममा केही अस्पताल बन्द अवस्थामा पायौं,' इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले भने, 'खुलेका अस्पताललाई चेतावनी दिएका छौं ।'
मुख्यमन्त्री सिंहले शनिबार साँझ यहाँका १४ वटा निजी अस्पताल अनुगमन गर्दा १३ वटा विना दर्ता र विना नवीकरणका भेटिएका थिए । ती अवैध अस्पतालहरूले चर्को शुल्क लिएर मनलाग्दी उपचार र नागरिकको ज्यानसँग खेलबाड गर्दै आएको भेटिएपछि उनले तत्कालै पत्र काट्दै बन्द गराएका थिए ।
सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर, शान्ति हेल्थ केयर, श्रीराम डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिकलाई बन्द गराइएको थियो ।
