कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारी फेरि आन्दोलित

चैत्र १७, २०८१

अवधेशकुमार झा

The professors and staff of the University of Agriculture are on strike again

राजविराज — राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरू आइतबारदेखि फेरि आन्दोलित भएका छन् ।

गत भदौ महिनादेखि तलब नपाउँदा घरपरिवार चलाउन समस्या भएको भन्दै प्राध्यापक तथा कर्मचारीहरूले आइतबारदेखि 'पेन डाउन' गरी आन्दोलन सुरु गरेका छन् । यस आन्दोलनका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुने सम्भावना छ ।

यसअघि गत फागुन १ गते प्राध्यापक र कर्मचारीहरूले तलब नपाएको भन्दै विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको उपस्थितिमा जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वपक्षीय भेलाबाट कर्मचारीलाई तलब दिने आवश्यक प्रक्रिया अपनाउने निर्णय भएपछि फागुन १० गते ताला खोलिएको थियो ।

फागुन २० मा भएको विश्वविद्यालयको सिनेट बैठकमा बहुमतले उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालयमा विवाद फेरि चर्किएको थियो । सर्वोच्च अदालतले तत्काल पदमुक्त नगर्न अल्पकालीन आदेश जारी गरेपछि उपकुलपति डा. महतो र रजिस्ट्रार ठाकुर हाजिर भएपनि कर्मचारीहरूले अझै पनि तलब पाउन सकेका छैनन् ।

'अतितमा विश्वविद्यालय सभाबाट नीति र कार्यक्रम पास नहुदा तलब दिन सकिएको थिएन,' रजिस्ट्रार ठाकुरले भने, 'अहिले नीति र कार्यक्रमको खर्च गर्ने अख्तियारी प्राप्त हुन नसकेका कारण कर्मचारीलाई तलब दिन सकिएको छैन ।' उनले थपे, 'अख्तियारी प्राप्त हुँदासाथ कर्मचारीको तलब तिर्ने छौं । भदौ महिनादेखि तलब नपाउँदा कर्मचारीसँगै हामी पनि समस्यामा परेका छौं ।' 

तलब नपाएर कर्मचारीहरूले आइतबार पेन डाउन गरेपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पढाइ फेरि प्रभावित भएको छ ।

अवधेशकुमार

Link copied successfully