राजविराज — अदालतले तोकेको १४ रुपैयाँ ५० पैसा जरिवाना नबुझाएर पछिल्लो ९ वर्षदेखि फरार सूचीमा रहेका पाँचजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ती पाँचजनालाई पक्राउ गरेर अदालतमा पेस गरेको हो । पक्राउ गरिएकाहरुमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ का ब्रह्मदेश मण्डल, चन्द्रदेव मण्डल, जितेन्द्र मण्डल, जगनारायण मण्डल र खुशीलाल मण्डल रहेका छन् ।
कुटपिट र लुटपाट मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ वैशाख ७ गते गरेको फैसलाअनुसार उनीहरु पाँचैजनामाथि जनही १४ रुपैयाँ ५० पैसाका दरले जरिवाना तोकेको थियो । सो जरिवाना रकम नबुझाएर उनीहरु फरार सूचीमा थिए । तर, उनीहरु तोकिएको जरिवाना बुझाएर रिहा भइसकेका छन् ।
प्रहरीले कुटपिट मुद्दामा पाँचसय रुपैयाँ जरिवाना गरिएका राजविराज-१३ का कैलु यादव, २ सय ७५ रुपैयाँका दरले देवराम यादव र वीरेन्द्रप्रसाद यादव तथा जालसाजी मुद्दामा २ सय रुपैयाँ जरिवाना तोकिएका तिलाठी कोईलाडी-४ का श्यामप्रसाद सिंह राजपुतलाई पनि पक्राउ गरी अदालतमा पेस गरिएकोमा उनीहरुले पनि तोकिएको जरिवाना बुझाई रिहा भएका छन् ।
