गरुडाको तरकारी बजारमा ७ पसल जले

चैत्र १५, २०८१

शिव पुरी

7 shops were burnt in the vegetable market of Garuda

रौतहट — रौतहटको गरुडा नगरपालिका–४ स्थित तरकारी बजारमा शुक्रबार आगो लाग्दा ७ पसलमा क्षति पुगेको छ ।

आगलागीबाट स्थानीय व्यापारीको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । आलगीबाट गरुडा–८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसल, जयमंगल चौधरीको फुसको खाजा पसल, राजेन्द्र साहको पसल, सुजितकुमार चौधरीको खाजा पसल, नेवालाल चौरसियाको किराना पसल, कृष्ण दासको कपडा पसल र कटहरिया–९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा आगो लागेको डीएसपी राजन कार्कीले जानकारी दिए । 

घटनामा १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगो निभाउन इलाका प्रहरी गरुडाको टोली खटेको थियो । पसलमा राखिएको ग्यास सिलिन्डर विस्फोट भएपछि आगोले ठूलो रूप लिएको थियो । स्थानीय र वारुणयन्त्रको मद्दतले झन्डै डेढ घण्टापछि आगो नियन्त्रणमा आएको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully