रौतहट — एक महिनादेखि रौतहटको चन्द्रपुरमा अनुबिना सञ्चालित चिनियाँ भाषा कक्षा बन्द भएको छ ।
पर्यटक भिसामा आएका चिनियाँहरुले चन्द्रनिगाहपुर आसपासमा भाषा कक्षा सञ्चालनका लागि शंकास्पद गतिविधिसमेत गरेको भन्दै गुनासो आएपछि प्रशासनले बन्द गराएको हो ।
चन्द्रपुरको वडा नम्बर १० र ६ मा भाषा कक्षा सञ्चालनमा थियो । बालचनपुर स्थित तेली समाज धर्मशाला, चन्द्रनिगाहपुर स्थित ईभा खाजाघर र डाबरी जाने बाटोमा अनुमति नलिएरै चार वटा कक्षा सञ्चालित हुँदै आएका थिए ।
यसको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएर सोधपुछ गरी कक्षा बन्द गराएका थिए । उनीहरुले बुधबारबाट सबै कक्षा बन्द गराएको डिएसपी राईले जानकारी दिए ।
चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको थियो । अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले चासो देखाएका थिए ।
बालचनपुरको तेली समाज धर्मशालाभित्र दैनिक झण्डै २ सय बालबलिकाहरु चिनियाँ भाषा पढिरहेको देखिन्थे । उनीहरुलाई चिनियाँ पर्यटक एलीनले पढाथिइन्। पर्यटक भिसामा आएका उनीहरुसँग पढाउने अनुमति थिएन ।
नि:शुल्क रुपमा भाषा कक्षा मात्र होइन, कक्षामा सहभागी बालबालिकाहरुलाई दैनिक प्रतिव्यक्ति ५० रुपैयाँ र शैक्षिक सामग्रीसमेत दिने गरेका थिए । भाषा कक्षामा सक्रिय विद्यार्थीलाई साइकल उपहारसमेत दिएका थिए ।
उपहार र दैनिक कक्षामा सहभागी भएवापत रुपैयाँ पाउने भएपछि स्थानीय बालबालिका विद्यालय बिदा हुनेबित्तिकै भाषा कक्षामा जाने गरेका थिए ।
भविष्यमा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई चाइना जान सहज होस् भनेर आफूहरुले भाषा सिकाएको एलीनको दाबी छ । ‘हामीले कसैसँग अनुमति लिएका छैनौं । पर्यटक भिसामा आएका हामीसँग कक्षा सञ्चालनको अनुमति छैन । यी बालबालिकाहरुलाई भविष्यमा उच्च शिक्षाका लागि चाइना जाँदा सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरेका हौं’, उनले भनिन् । दैनिक एक सय रुपैयाँका दरले दिनेगरी तीन जना नेपालीलाई स्वयंसेवक पनि राखिएको थियो ।
