पत्थरकट्टा समुदायको चिन्ता : पुर्ख्यौली सीपले कसरी धान्ने ?

चैत्र १२, २०८१

विद्यानन्द राम

Concerns of the Pattharkatta community: How to use ancestral skills?

सप्तरी — ‘१२ वर्षकै हुँदा बुवालाई हेरेर सिकेको सीपले आठ जनाको परिवार चलाए तर अहिले पुर्ख्यौली पेसाले धान्ने अवस्था रहेन’ बिहीबार सडक छेउमा ढुंगा कुँदिरहेका ५० वर्षीय राजकुमार थवही (पत्थरकट्टा)ले भने, ‘छोराहरुलाई पढाउन सकिएन, अन्य सीप पनि छैन, कसरी परिवार धान्लान् भन्ने पिर छ ।’

राजविराज नगरपालिका–२ तेतरीगाँछीका राजकुमारसँग पनि अन्य सीप छैन् । जानेको त्यहीँ ढुंगा कुँद्ने पुर्ख्यौली सीप हो । ढुंगा कुँदेरै उनले बुवाआमा, चार छोरा र पत्नी गरी आठ जना परिवारको गुजारा मात्रै चलाएन, हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरमा ६ कोठाको पक्की घर पनि बनाउन भ्याएँ । तर, छोराहरुलाई भने ४–५ कक्षाभन्दा बढी पढाउन नपाउँदा उनी चिन्तित छन् । ‘ढुंगालाई आकार दिई कुँदेर बनाइने सिलौटो र जाँतो बेचेर पहिला–पहिला निकै आम्दानी हुन्थ्यो, छोराहरु पनि ढुंङ्गा कुँद्न लाग्दा ४/५ कक्षाभन्दा बढी पढ्न पाएनन्,’ उनले भने, ‘अहिले सिलौटो र जाँतो बिक्नै छोडेको छ, गाउँसम्मै बढेको मसला पिध्ने मेसिन र मिक्स्चरको प्रयोगले हाम्रो पेसा नै सङ्कटमा पर्न थालेको छ ।’

गुजारा चलाउनकै लागि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आइरहेका राजकुमारलाई छोराहरुले पनि त्यही काममा सघाउँदैआएका छन् । ‘वर्षौअघि नै यो जग्गा भाडामा लिएर सिलौटो र जाँतो बनाउँदै आएका छौं’ उनले भने, ‘तीन दिनमा ८/१० वटा सिलौटो र एकजोडी जाँतोसम्म बनाउँछौं अनि घोंडा, गधा वा साइकलमा बोकेर गाउँ–गाउँ घुमेर विक्री गर्न जान्छौं ।’ गाउँगाउँ घुमेपछि प्रति सिलौटो ५ सय र जाँतो १ हजार ५ सयसम्म बिक्री हुने गरेको छ । ‘त्यसमा लगभग आधा रकम कच्चा ढुंगा खरिददेखि ढुवानी र विक्री गर्न जाँदा हुने खर्चमै सकिन्छ,’ उनले भने । ‘लेटाङ र केराबारीबाट ढुंगा ल्याएर सिलौटो र जाँतो बनाउँदै आएका लोपोन्मुख जातिका राजकुमारले राजविराज नगरपालिका–२ तेतरीगाँछीकै सडक छेउमा दक्षिणतर्फ जग्गा भाडामा लिएर सिलौटो र जाँतो बनाउँदै आएका छन् । राजकुमारका परिवारमा उनकी पत्नी ४५ वर्षीया सावित्रीसहित छोराहरु ३० वर्षीय शिवा, २८ वर्षीय रवि, २६ वर्षीय रविन्द्र र २२ वर्षीय रञ्जित छन् । छोराहरुको पनि विवाह भइसकेकोले अहिले जेनतेन परिवार चल्दै आए पनि अबको पुस्तालाई पुर्ख्यौली पेशाले धान्न समस्या हुने उनको चिन्ता छ । पसिना पुछ्दै उनले भने, ‘मेरो जिन्दगी त यसमै बित्यो, अब हामीले बनाएका सामान प्रयोग हुनै छाडेको छ, अन्य सीप नै छैन । भावी पुस्ताको भविष्य अन्योल हुन्छ ।’

आदिवासी जनजाति समुदायभित्र पर्ने लोपोन्मुख उक्त जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता पनि दिँदै आएको छ । ‘तर हामीलाई भत्ताभन्दा पनि शिक्षामा विशेष अवसरको आवश्यकता छ,’ उनले भने, ‘सप्तरीमा १५–१७ परिवार मात्रै छन्, हाम्रो जाति ।’ सन्तानलाई पढाउनुपर्छ भन्ने सोच नआएको तथा बालबच्चा पनि सँगै काम गर्दागर्दै हुर्किएको राजकुमार दुःखेसो सुनाउँछन् । उनका अनुसार सप्तरीबाहेक झापा, सुनसरी, धनुषा, पर्सालगायतका जिल्लामा छिटफुट रुपमा बसोबास रहेको छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविनले लोपोन्मुख ती समुदायले सामाजिक सुरक्षा भत्ता नै पाइरहेकोले खासै योजना नल्याइएको बताइन् । ‘तर, उहाँहरुलाई चाहिएको कुरा पूरा गर्न हामी गम्भीर छौं,’ उनले भनिन्, ‘हामीले बुझेर पहल गर्छौं ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार देशैभर यो समुदायको जनसंख्या जम्मा ३ हजार १ सय ८२ मात्रै छन् ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully