धनुषा — चैत पहिलो साता मुखियापट्टी मुसहरनिया–६ बैरियास्थित एक घरको गोठमा भन्सार छलीको सामान रहेको सूचना पाएलगत्तै सादा पोसाकका प्रहरी खटिए । स्थानीय भजु यादवको गोठघरमा रहेको गोदाममा वडा प्रहरीले छापा मार्न खोजेको सुइँको गोदाम सञ्चालकले पाइसकेका थिए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार छापामार्नुअघि तस्करको समूहले अन्तिम उपायको रुपमा प्रहरीमाथि प्रतिकार गर्ने योजना बनाइसकेका थिए । प्रहरी त्यहाँ पुग्नासाथ दुई पक्षबीच विवाद सुरु भयो ।
केही व्यक्तिले जबर्जस्ती सामान लिएर जाने प्रयास गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी धनुषाका एसपी भूवनेश्वर तिवारीले बताए । थोरै संख्यामा प्रहरी देखेर तस्करको समूहले झन् आक्रमण गर्न थालेपछि बल प्रयोग गरेको उनको भनाइ छ ।
‘प्रहरी १४ जना मात्रै । तस्कर अढाई/तीन सयको संख्यामा थिए,’ एसपी तिवारीले भने, ‘उनीहरु गोदामको टाटी भत्काएर प्रहरीमाथि ढुंगामुढा गरी सामान लिएर भाग्ने प्रयास गरेका थिए ।’ स्थिति नियन्त्रणमा लिएर प्रहरीले उक्त गोदामबाट चार्जर, ब्याट्रीलगायत मोबाइल सम्बन्धी १९ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको थियो ।
गत फागुन २४ गते धनुषाको विदेह नगरपालिका महिनाथपुर नाकामा सशस्त्र प्रहरी र तस्करको समूहबीच झडप भयो । दुबही ढाला र गोवराहीको बीचमा जाँच गर्दा तीन वटा मोटरसाइकलमा भारततर्फ मदिरा तस्करी भइरहेको थियो । सशस्त्र प्रहरीका सहायक निरीक्षक माधव अधिकारीको नेतृत्वमा पाँच जना सुरक्षाकर्मी त्यहाँ खटिएका थिए । मदिराको बिल नभएका कारण नियन्त्रणमा लिएर बिल ल्याउन लगाउँदा उनीहरु दुई मोटरसाइकलमा फरार भए । लगत्तै ५० जनाको समूह आएर सहायक निरीक्षक अधिकारी र प्रहरी हवलदार बलराम रजाकमाथि कुटपिट गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म महिनाथपुरका इन्चार्ज डीएसपी सुरज रिजालले बताए ।
‘यो घटनाबारे हामीले नेपाल प्रहरीमा निवेदन पनि दिएका छौं,’ उनले भने, ‘प्रहरीलाई कुटपिट गर्ने स्थानीय भन्दा बाहिरको व्यक्ति रहेको देखिएको छ । त्यसकारण यो घटनामा हामीले केही गर्न सकेका छैनौं ।’ उनका अनुसार चाची भनेर चिनिने स्थानीय एक महिलाले सीमामा गुण्डासमेत राखेर तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनको सामान समात्ने बित्तिकै भारतबाट मान्छे बोलाएर विवाद गर्न खोज्ने गरेको प्रहरीको भनाइ छ । यो सबै घटनाकी मुख्य नाइके 'चाची' भनेर चिनिने तस्कर नै रहेको उनको दाबी छ ।
सिसिटिभी लगाउँदा आन्दोलन, जनप्रतिनिधि नै विरोधमा
धनुषाको गोबराही र दुबही ढाला नाकाबाट सबैभन्दा बढी तस्करी भइरहेको पाइएपछि प्रहरीले त्यहाँ दुई वटा सीसीक्यामरा लगायो । त्यसको विरोधमा तस्करीमा संलग्नहरु मात्रै होइन जनप्रतिनिधि समेत देखिए । विदेह नगरपालिका प्रमुख बेचन दास सिसिटिभी हटाउन माग गर्दै तस्करसँगै आन्दोलनमा उत्रिए । जनकपुर–जयनगर रेलसमेत अवरुद्ध गरेर उनीहरुले सिसिटिभी हटाउन माग गरे ।
त्यहीँ दिन आन्दोलन गर्न पुगेको समूहले सिसिटिभी फुटाएको डीएसपी रिजालले आरोप लगाएका छन् । आन्दोलनले हिंसाको रुप नलियोस् भनेर प्रहरी शान्त बसेको उनको भनाइ छ । पछि सिसिटिभी फुटाउन संलग्न रहेको भन्दै चार जना स्थानीय माथि प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरायो ।
यद्यपि हालसम्म उनीहरु फरार छन् । नगर प्रमुख दास सिसिटिभी फुटाएको विषय स्वीकार गर्दै उक्त घटनामा प्रहरी दोषी रहेको दाबी गर्छन् । प्रहरीले धेरै दुःख दिन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएको उनले बताए । सीमा पारिबाट स्थानीयलाई पाँच केजीभन्दा बढी खाद्यान्न समग्री ल्याउन नदिँदा आन्दोलन गरेको उनको तर्क छ ।
नगर प्रमुखकै नेतृत्वमा सिसिटिभी फुटाइएको विषयमा उनले भने, ‘प्रहरीले शौच गर्न जाने व्यक्ति माथि ज्यादती गर्छन् । सीमामा सिसिटिभी नलगाएर गाउँमा लगाएका छन् । सबैको घरमा शौचालय छैन । खुल्लामा शौचालयको लागि जाने व्यक्तिलाई पक्राउ गरेर टर्चर गर्छन् । घटना अझै सेलाएको छैन । अझ उग्र रुप लिन्छ, प्रहरीले मुद्दा फिर्ता नलिए अझै आन्दोलन हुन्छ ।’
नेपाल प्रहरीका अवकाश प्राप्त एसएसपी गोविन्द साहले आर्थिक लाभको कारण सीमामा तस्कर र प्रहरीबीच झडप हुने गरेको विश्लेषण गर्छन् । ‘मुख्य कारण त आर्थिक लाभ नै हो । त्यो दुवै पक्षलाई हुन्छ,’ उनले भने, ‘व्यावहारिक कुरा र कानुनी कुरामा मतभेद हुँदा पनि सीमामा झडप हुन्छ ।’ भारत–नेपालको सम्बन्ध बेटीरोटीको रहेको उल्लेख गर्दै उनले घरायसी कामको लागि पनि खाद्यान्न ल्याउँदा प्रहरीले जाँच गर्दा स्थानीय अजित भएर विवाद गर्ने गरेको उनले सुनाए ।
उद्योग वाणिज्य संघ मधेश प्रदेशका जिल्ला वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले प्रहरीले स्वार्थ र सेटिङ गर्न सीमामा तस्करसँग विवाद गर्ने गरेको आरोप लगाए । ‘प्रहरीले चाह्यो भने अवैध रुपमा कसैले एउटा सुई पनि ल्याउन सक्दैन । तर, अहिले ४५ प्रतिशतभन्दा बढी सामान तस्करीकै आउने गरेको देखिन्छ,’ उनले भने, ‘जसले गर्दा वास्तविक व्यवसायी मारमा परेका छन् । केहीले बाध्य भएर तस्करीको सामान खरिदबिक्री गर्नुपरेको छ ।’ तस्करी गरेर आएको सामानको मूल्यमा राजश्व तिरेर आएको सामान बिक्री गर्न व्यवसायीलाई निकै कठिनाई भएको उनको तर्क छ । त्यसैबाट आजित भएर केही व्यक्तिले तस्करीलाई नै पेसा बनाएको उनले सुनाए ।
मधेश प्रदेश प्रमुख डीआईजी लालमणि अचार्यले सीमित व्यक्तिको स्वार्थका लागि झडप हुने गरेको औंल्याए । कानुन पालना नगर्दा पनि कतिपय ठाउँमा झगडा हुने गरेको उनले बताए । उनका अनुसार पछिल्लो समय ठूल्ठूला व्यापारी स्थानीय व्यक्तिलाई भरिया बनाएर कम–कम मात्रामा सामान भन्सार छली गरेर गोदाममा राख्ने गरेका छन् ।
स्थानीयको रोजीरोटी जुरेको कारण प्रहरीसँग बेलाबेला विवाद गर्ने गरेको उनले सुनाए । ‘घरायसी सामान र तस्करीको सामान हेरेर नै प्रहरीले थाहा पाउँछ,’ उनले भने, ‘त्यसकारण प्रहरीले दुःख दिएको कुरा गलत हो । तस्करले त्यसको आडमा फाइदा उठाउन खोजेको मात्रै हो ।’ स्थानीय जनप्रतिनिधि पनि इमान्दार नभइदिँदा कानुन पालना गराउन समस्या देखिएको उनले बताए । विवाद, भोजको नाममा तस्करलाई समेत जनप्रतिनिधिले सामान ल्याउन सिफारिस दिने गरेको उनले आरोप लगाए ।
