पूर्वाधार विकासमा आधारित उद्यमशीलता र रोजगारी आवश्यक छ : मन्त्री भण्डारी

चैत्र ११, २०८१

सन्तोष सिंह

Entrepreneurship and employment based on infrastructure development is essential: Minister Bhandari

महोत्तरी — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले भौतिक पूर्वाधार विकासलाई उद्यम, उत्पादन र रोजगारीसँग जोड्न नसक्दा नागरिकले विकासको अनुभूति गर्न नसकेको बताएका छन्।

'घरघरमा सडक, पानी, बिजुली पुगे पनि नागरिक सन्तुष्ट छैनन्,' भण्डारीले भने, 'मुलुकमा नैराश्यताको वातावरण बनेको छ। गलत भाष्य निर्माण भएको छ। नैराश्यता र गलत भाष्य चिर्न पूर्वाधारमा आधारित उद्यमशीलता र रोजगारीका अवसर ल्याउनु पर्छ। विदेशबाट फर्केर आएका जनशक्तिको सीप र जागरलाई सदुपयोग गरी विकासको अनुभूति गराउनु पर्ने समय आएको छ ।'

महोत्तरीको बर्दिबास नगरपालिकाले सोमबार आयोजना गरेको ‘१ हजार दिनको उपलब्धि’ सार्वजनिक कार्यक्रममा मन्त्री भण्डारीले बर्दिबास नगरपालिकाले भविष्यमा आफ्नो स्वरूप कता लैजाने भन्ने विषयमा अहिले नै छलफल गर्नु पर्ने बताए।

'छिमेकी भारत र चीन जोड्ने मेगा प्रोजेक्ट अन्तर्गत भिठ्ठामोड–बर्दिबास–खुर्कोट हुँदै चीनसम्म जोडिने सडक बर्दिबास भएर जानेछ। पूर्व–पश्चिम विद्युतीय रेलको जक्सन पनि बर्दिबास नै हो,' भण्डारीले भने, 'दुई देशलाई जोड्ने सडक बर्दिबासबाटै जोडिँदै छ। हामीसँग दुई छिमेकीलाई एक-अर्कासँग लडाउने समय छैन। हामी मित्र हौं। दुई देशलाई जोडेर विकासतर्फ अघि बढ्ने सोचका साथ अघि बढ्ने समय आएको छ।'

सरकारले आगामी दशकलाई ‘रोजगारीको दशक’ का रूपमा मनाउन लागेको भण्डारीले बताए।

'बर्सेनि अर्बौं बजेट तालिममा खर्च भए पनि उपलब्धि देखिएको छैन। त्यसैले तालिम र प्रशिक्षणमा एकरूपता ल्याएर रोजगारदाताको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सरकार प्रतिबद्ध छ,' भण्डारीले भने, 'मुलुकमै रोजगारीका अवसर हुँदा-हुँदै पनि हुनर र सीप नजिक्दा नेपालीहरू विदेशमा दुःख पाइरहेका छन् ।'

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully