धनुषा — नेपाली सेनाले महोत्तरीको सोनमामा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सरस्वती जनता माध्यमिक विद्यालय सोनमा जिरौनालाई छात्रा शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।
मध्यपूर्वी पृतना हेडक्वार्टरले जनहित कार्यक्रम कार्यान्वयन योजनाअर्न्तगत नं. ९ बाहिनी अड्डा अन्तर्गतको गोरखनाथ गणले सरस्वती जनता माध्यमिक विद्यालयमा ४ कोठे छात्रा शौचालय निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको मध्यपूर्वी पृतनाका उपरथी कृष्णबहादुर जिसीले बताए ।
गोरखनाथ गणले पट्रोलको दौरान विद्यालय रहेको छात्रा शौचालय जिर्ण तथा अपर्याप्त रहेको यथार्थतालाई मनन् गरी शौचालय निर्माणको लागि पत्राचार गरेर माथिल्लो निकायबाट मध्यनजर गर्दै मध्य पर्वी पृतना हेडक्वार्टरको जनहित कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत १ हजार १८ जना छात्राका लागि सुविधा सम्पन्न शौचालय नेपाली सेनाले निर्माण गरेको जिसीले बताए । विद्यालयमा २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।
सैनिक-नागरिक सम्बन्धलाई सुमधुर तथा थप मजबुत बनाउन नेपाली सेनाले आफूसँग उपलब्ध श्रोत, साधन र बजेटको उच्चतम प्रयोग गरी जिल्लाको आवश्यकतालाई मनन् गर्दै प्राथमिकताको आधारमा जनहित कार्यअन्तर्गत सञ्चालन गर्दै आईरहेको जिसीले बताए ।
सरस्वती जनता माध्यमिक विद्यालयका प्रधानध्यापक राजकुमार साहले विद्यालयमा भौतिक पूर्वाधारको कमीले पठनपाठनमा समस्या भइरहेको बेला नेपाली सेनाले छात्राहरूका लागि शौचलय बनाउँदा विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्राप्त भएको बताए ।
विद्यालयमा रहेको सीमित शौचालयमा पानी र सरसफाइ नहुँदा घरमै फर्केर शौचालय जानु पर्ने समस्या समाधान भएको सरस्वती जनता माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खदिजा खातुनले बताइन । ‘छात्राका लागि छुट्टै शौचालय थिएन,’ खातुनले भनिन्,‘हामीले प्रयोग गर्ने शौचालय व्यवस्थित थिएन । घरमै फर्केर शौचलाय जान्थे । सेनाले हाम्रा लागि शौचालय बनाएर हामीलाई सहयोग हुनेछ ।’
