एसईई अमर्यादित भएपछि परीक्षा केन्द्रको सय मिटर आसपास आउजाउ बन्द, झ्यालमा जस्तापाता

चैत्र १०, २०८१

सन्तोष सिंह

After SEE unlimited, around hundred meters of the exam center closed, zinc leaves on the windows

महोत्तरी — महोत्तरीको सोनमा गाउँपालिकाको खखना लोटना एसईई परीक्षा केन्द्रमा चिट चोराउने लगायतका अमर्यादित गतिविधि हुन थालेपछि सुरक्षाकर्मी थप गरिएको छ । अहिले यहाँ झ्यालमा जस्तापाता लगाएर बन्द गरिएको छ भने पर्खालभन्दा सय मिटर आसपास अवातजावतमा रोक लगाएको छ ।

परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि र कक्षा कोठामा प्रवेश गरेपछि शरीरमा जाँचलाई कडाइ बनाइएको छ ।

परीक्षा केन्द्रमै कम्प्युटर टाइप भएका फोटोकापी, गेसपेपर र चिटबाट चोरी भएको गुनासो आएपछि परीक्षा केन्द्रमा कडाइ गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए । गणित विषयको परीक्षामा चोरी गराएको आरोपमा माध्यमिक विद्यालय बसबिट्टी बसन्तपुर रामगोपालपुरका केन्द्र अध्यक्ष र निरीक्षक र कार्यालय सहयोगीलाई कारबाही गरिएको उनको भनाइ छ ।

'परीक्षा केन्द्रमा मोबाइल प्रयोग त शून्य नै भएको छ,' उनले भने, ‘परीक्षा केन्द्रमा चलखेल गर्ने र परीक्षा अमर्यादित बनाउनेहरुको जिम्मेवारी खोसिएको छ ।’ परीक्षामा चोरी गराउँदै आएका र व्यवस्थापन गर्न नसक्ने केन्द्रका केन्द्राध्यक्ष र परीक्षा सञ्चालन गर्ने परीक्षा निरीक्षकलाई तत्काल परिवर्तन गरी एसईई मर्यादित बनाइएको उनले दाबी गरे ।

महोत्तरीका ३२ एसईई परीक्षा केद्रमा एकैसाथ अनुगमन टोलीले अनुगमनमा पुगेर कडाइ गरेपछि परीक्षामा सुधार आएको छ । महोत्तरीमा ११ हजार १ सय ६१ परीक्षार्थी सहभागी छन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully