पूर्वपञ्चहरू धमिलो पानीमा माछा मारिरहेका छन् : दाहाल

'केही समयभित्रै नेपालमा केही न केही परिवर्तन देख्नुहुनेछ'

चैत्र ८, २०८१

शंकर आचार्य

The Purpanchas are fishing in murky waters : Dahal

पर्सा — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा राजतन्त्र फर्किने कुरा असम्भव रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत शुक्रबार वीरगन्जमा नागरिक समाजसँगको संवादमा दाहालले यस्तो बताएका हुन् ।

‘नेपालमा राजा महाराजा फर्कने कुरा असम्भव हो,’ उनले भने, ‘तर पनि पूर्वपञ्चहरुले धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् ।’ 

दाहालले पूर्वराजा ज्ञानेन्द्रले ८६/८७ वर्षका वृद्ध पूर्वपञ्च नवराज सुवेदीलाई राजसंस्था पुनस्थापना गर्ने जिम्मेवारी दिएको बताउँदै नहुने बेला बुद्धि उल्टो उल्टो जान्छ भन्ने उखान चरितार्थ गरेको बताए । ‘विनाशकाले विपरीत बुद्धि भनेको यही हो,’ दाहालले भने, ‘नेपाली जनताले कत्रो सम्मानका साथ उनलाई बस्न दिएका छन्, चुपचाप बसेर ट्रस्टमार्फत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न सक्थे ।’

पूर्वराजा ज्ञानेन्द्रले राजनीति गर्न नसक्ने बताउँदै दाहालले उनले देश चलाउन नसक्ने दाबी गरे । २ सय ५० वर्षसम्म शाह वंशले देश चलाउने अवसर पाएर पनि असफल भएको उनको भनाइ थियो । 

वर्तमान सरकारले भ्रष्टाचारीलाई जोगाउने, बेथिति र अराजकता कायम गर्ने काम गरेको कारण जनतामा असन्तुष्टि बढेको र त्यसको फाइदा पूर्वराजा र उनका  समर्थकले उठाउन खोजेको दाहालले बताए ।The Purpanchas are fishing in murky waters : Dahal

फरक प्रसंगमा उनले शासकीय स्वरुपमा संसदीय निर्वाचन प्रणाली मात्र अपनाएर नहुने बताउँदै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिएको बताए । ‘त्यस्तो कार्यकारी प्रमुखले ५ वर्ष काम गर्न पाउने सुनिश्चितता हुनुपर्छ,’ उनले भने ।

दाहालले केही समयभित्रै नेपालमा केही न केही परिवर्तन हुने संकेत पनि गरे । ‘केही समयभित्रै नेपालमा केही न केही परिवर्तन तपाईंहरुले देख्नुहुनेछ,’ उनले भने, ‘त्यसबारे म अहिले धेरै कुरा खोल्न चाहन्नँ ।’ 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully