राजविराज — मधेश कृषी विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुर बिहीबार राजविराजस्थित कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका छन् । ठाकुरलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बुधबार मधेश प्रदेश सरकारको नाममा आदेश गरेपछि उनी कार्यालयमा हाजिर भएका हुन् ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले छलफलका लागि चैत ११ गते पेशी तारिख तोक्दै रजिष्ट्रार ठाकुरलाई पदमुक्त गर्ने गरी गरिएको निर्णय र सो सम्बन्धी पत्र तत्काल यथास्थितिमा राख्न विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सहितका विपक्षीका नाममा आदेश गरेको थियो ।
बिहीबार कार्यालय पुग्दा रजिष्ट्रार ठाकुरलाई उपकुलपति डा. वैधनाथ महतोसहित कर्मचारीले स्वागत गरे । आफूलाई गैरकानुनी तरिकाबाट हटाउन खोजेकाले अदालत गएको र न्यायपालिकाले न्याय गरेको रजिष्ट्रार ठाकुरले बताए ।
यसअघि सर्वोच्चले उपकुलपति महतोलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो । उपकुलपति महतो र रजिस्ट्रार ठाकुर जसपा नेपालका लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका व्यक्ति हुन् । अहिले जनमत पार्टी नेतृत्वमा सरकार छ । पदाधिकारी र सरकार नेतृत्वको राजनीतिक लाइन फरक पर्दा विश्वविद्यालय नै पछिल्लो समय अस्तव्यस्त बनेको छ ।
२०८० माघ ८ गते शिलान्यासका लागि विश्वविद्यालयले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत पार्टी उपकुलपति र रजिस्ट्रारबाट असन्तुष्ट रहँदै आएको छ । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि उपकुलपति महतो र रजिस्ट्रार ठाकुरले अनियमितता गरेको भन्दै नीति आयोगका उपाध्यक्ष डा. सोहन साहको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो । डा. साह नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाए पनि औचारिक रुपमा उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।
