मधेशमा एसईई: एक घण्टाभित्रै प्रश्नपत्र बाहिरियो

चैत्र ७, २०८१

अजित तिवारी

SEE in Madhesh: Question paper out within an hour

जनकपुर — बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र धनुषाको एक परीक्षा केन्द्रबाट बाहिरिएको छ । केन्द्राध्यक्ष वा परिक्षार्थी को मार्फत प्रश्नपत्र बाहिरियो भन्ने यकिन गर्न अनुसन्धान थालिएको छ ।

परीक्षा सुरु भएको १ घण्टाभित्र नै अंग्रेजी विषयको प्रश्नपत्र समाजिक सञ्जालमा छताछुल्ल भएको थियो । ‘आरई १०११ एमपी’ कोड गरिएको प्रश्नपत्र परीक्षा समयमै बाहिरिएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रामुराज कडरियाले प्रश्नपत्र धनुषा वा कुन जिल्लाबाट बाहिरिएको यकिन हुन नसकेको बताए । 

उनले प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालय र जिल्ला शिक्षा समन्वय समितिमा रिर्पोटिङ गरिसकिएको पनि बताए । 

‘प्रश्नपत्र धनुषा जिल्लाबाटै बाहिरिएको हो वा अरु जिल्लाबाट यकिन हुनसकेको छैन,’ सिडिओ कडरियाले भने,‘तर, छानबिन गर्ने काम सुरु भएको छ । धनुषाबाट बाहिरिएको हो भने कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’ 

उनले एसईई परीक्षा मर्यादित बनाउनका लागि सुरक्षाकर्मी र कर्मचारीको १० वटा छुट्टै टोली परिचालन गरिएको बताए । ‘एसईई परीक्षा समग्रमा राम्रो भएको छ,’ उनले भने,‘परिक्षार्थी एक घण्टापछि परीक्षा कोठाबाट बाहिर जान पाउँछन् । त्यहीक्रममा प्रश्नपत्र बाहिरिएको हुनसक्छ । के भएको हो, हामी बुझ्दैछौं ।’

शिक्षा र सुरक्षा मामिलाका अधिकारीहरुले एसईई परीक्षाको पहिलो दिन मर्यादित नै भएको दाबी गरिरहे पनि सामाजिक सञ्जालमा भने चिट चोरीको भिडिओ भाइरल बनिरहेको छ । रौतहटको मौलापुर–६ स्थित श्री माध्यमिक विद्यालय परीक्षा केन्द्रमा काँडे तार लगाइएको पर्खालमा चढेर पहिलो तलाको झ्यालबाट चिट पुर्‍याइएको भिडिओ बाहिरिएको हो ।

कालो हाफ टि–सर्ट लगाएका एक युवा पर्खालमा चढेर झ्यालबाट दिएको चिट परीक्षार्थीले धकै नमानि लिएको भिडिओमा देखिन्छ । यस्तै, महोत्तरीको औरहीस्थित एक परीक्षा केन्द्रमा नजिकै रहेको घरको छत हुँदै विद्यालयको भवनको बार्दलीमा पुगेर झ्यालबाट चिट पुर्‍याइएको भिडिओ पनि बाहिरिएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षाको केन्द्राध्यक्ष छनोटमा बदमासी भएको र यसले एसईई परीक्षालाई मर्यादित बनाउन नसक्ने भन्दै प्रदेश सरकारलाई परीक्षा प्रक्रियाबाट अलग राख्ने घोषणा गरेको थिए ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully