मुआब्जा माग्दै रेल विभागमा धर्ना

मुआब्जा विवाद तत्काल समाधान नगरे रेलको काममा अवरोध गर्ने चेतावनी

चैत्र ७, २०८१

अजित तिवारी

Dharna at railway department demanding compensation

जनकपुर — रेल विभागले अधिग्रहण गरेको जग्गाको मुआब्जामा देखिएको विवाद सुल्झाउन ढिलाई गरेको भन्दै महोत्तरी बर्दिवासका किसानहरुले बिहीबार काठमाडौंस्थित रेल विभागको कार्यालयमा धर्ना दिएका छन् ।

मुआब्जा विवादकै कारण ब्रोडगेजको विस्तार बर्दिवाससम्म हुन सकेको छैन । जयनगरदेखि महोत्तरीको भंगहासम्म ब्रोडगेज निर्माण भएर रेल सेवा सञ्चालनमा आइसके पनि मुआब्जा विवादका कारण बर्दिवास खण्डमा भने रेलको काम रोकिएको छ । 

बर्दिवासका रेल्वे आयोजना पीडित संघर्ष समितिले रेल विभागलाई दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामीमाथि परेको पीरमर्काबारे लामो समयदेखि निवेदन र भेटेरै अनुरोध गर्दा पनि मुआब्जा विवाद समाधान गर्न पहल नहुँदा अन्तिम चरणको धर्ना तथा रिले अनसन हुँदै आमरण अनसन बस्ने अवस्थामा पुगेका छौं ।’ 

संघर्ष समितिका निरज अधिकारीले मुआब्जा विवाद समयमै नसुल्झाए रेल आयोजनाको काममा अवरोध गर्ने चेतावनी दिए । ‘लामो समयदेखि हामीलाई मुआब्जामा अल्झाउने काम मात्र गरिएको छ,’ अधिकारीले भने, ‘मान्य हुनेगरी मुआब्जा वितरण नगरिए हामी रेलको काममा अवरोध गर्छौं ।’

संघर्ष समितिले गत मंसिर २३ गते रेल विभागमा बर्दिवास र भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालय प्रमुख विनोद ओझाले नियम मिचेर मुआब्जा वितरण गरेको प्रमाणसहित विभागलाई जानकारी गराउँदा ओझालाई कारबाही नगरिएकोमा पनि आक्रोश व्यक्त गरेका छन् । 

रेल विभागका महानिर्देशकलगायत कर्मचारीसँगको छलफलमा मुआब्जा समस्या यथाशिघ्र समाधान गर्ने सहमति भए पनि ३–४ महिनापछि पनि समस्या उस्तै रहेको उनीहरुको भनाइ छ ।

संघर्ष समितिका अधिकारीका अनुसार रेल विभागले मुआब्जा वितरण गर्दा भएको त्रुटि सच्चाएर प्रतिवेदन तयार गरी भुक्तानी गर्ने आश्वासन दिए पनि समस्या ज्यूँका त्यूँ राखेर फाइल भौतिक निर्माण मन्त्रालयमा पठाइएको र त्यहाँबाट पनि फाइल गृह मन्त्रालय गइसकेकाले अल्मल्याउने काम मात्र भएको छ ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully