सप्तरी — एसईई परीक्षामा मर्यादाविपरीत कार्य गर्ने दुई केन्द्राध्यक्षसहित २६ जना कारबाहीमा परेका छन् । जिल्ला परीक्षा सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वमा खटिएको अनुगमन टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
पत्रकार सम्मेलन गर्दै प्रजिअ दाहालले जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका केन्द्राध्यक्षसहित ८ र महावीर माध्यमिक विद्यालय हनुमाननगरका केन्द्राध्यक्षसहित १८ जनालाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसकेको बताए । उनले भने, ‘त्यहाँ नयाँ केन्द्राध्यक्षको व्यवस्थापन पनि भइसकेको छ ।’
प्रजिअ दाहालका अनुसार विष्णुपुरमा कोठा नम्बर १, ७ र ८ मा एउटै विद्यालयका परीक्षार्थी राखेर परीक्षाको मर्यादाविपरीत कार्य गरिरहेको पाइएको थियो । त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र ६ जना कोठा निरीक्षकलाई कारबाही गरिएको उनले बताए ।
हनुमाननगरमा कोठा नम्वर १, २, ३, ४, ५ र ७ बाट १० वटा प्रश्नको उत्तरसमेत लेखिएको चिट बरामद भएपछि त्यहाँका केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र १५ जना कोठा निरीक्षकलाई कारबाही गरिएको हो । जिल्ला परीक्षा सुरक्षा समितिले ६ वटा अनुगमन टोली बनाएर ३७ वटामध्ये २५ वटा परीक्षा केन्द्रमा अनुगमन गरेको छ ।
