पर्सा — आर्थिक वर्षको ८ महिना बितिसक्दा पर्सामा विकास बजेट खर्च न्यून रहेको छ। साउनदेखि मंगलबारसम्मको अवधिमा जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयले २४ दशमलव ५७ प्रतिशत मात्र विकास बजेट खर्च गरेका छन्।
कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ८ महिनाको अवधिमा जिल्लाको पुँजीगत बजेट २ अर्ब ६७ करोड १३ लाख ८ हजार ७ सय ५० रुपैयाँँमध्ये ६५ करोड ६३ लाख ३५ हजार १ सय ९१ रुपैयाँँ ३९ पैसा मात्र खर्च भएको छ।
संघीय सरकार मातहतका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले नै विकास बजेट खर्च गर्न सकेका छैनन् । सबैभन्दा धेरै विकास बजेट रहेको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जको १ अर्ब ३४ करोड ७३ लाख रुपैयाँँ विकास बजेटमध्ये २२ करोड १० लाख रुपैयाँ मात्र खर्च भएको छ।
३१ करोड ६५ लाख रुपैयाँ विकास बजेट रहेको हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जले यस अवधिमा जम्मा १५ करोड ९६ लाख रुपैयाँ मात्र खर्च गरेको छ । ४३ करोड ३५ लाख रुपैयाँ विकास बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले १० करोड २६ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
१३ करोड ५९ लाख रुपैयाँ विकास बजेट रहेको नारायणी सिंचाई व्यवस्थापन डिभिजनले ३ करोड २५ लाख रुपैयाँ मात्र खर्च गरेको छ । ३१ करोड ६५ लाख रुपैयाँ विकास बजेट रहेको हुलाकी राजमार्ग योजना कार्यालयले १५ करोड ९६ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
जिल्लाको चालु बजेट १० अर्ब ५८ करोड रुपैयाँ रहेकोमा हालसम्म ६१ प्रतिशत अर्थात् ६ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ । सामान्यतया चालु बजेट कर्मचारीको तलब भत्तामा खर्च गर्ने गरिन्छ। सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जका प्रमुख खडगबहादुर चौधरीले कार्यालयले विकास निर्माणको बजेट खर्च गर्न नसक्नुमा यस वर्ष नयाँ कार्यक्रमहरु बढी हुनु प्रमुख कारण रहेको बताए ।
‘हामी अझै पनि ठेक्का व्यवस्थापनमै लागेका छौं,’ उनले भने, ‘६०/६५ वटा ठेक्कामा सम्झोता भई सकेका छन् ।’ कतिपय ठेक्कामा काम भई रहेको पनि उनले बताए । आउदो २ महिना भित्र धेरै ठेक्कामा काम भएर बजेट खर्च हुने उनले दाबी गरे ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सूचना अधिकृत बसन्त गुरागाईं विकास निर्माणको ठैक्का पाएका निर्माण कम्पनीहरुले मोबिलाइजेशन रकम लग्ने तर काम नगर्ने प्रवृत्ति जिल्लामा ठूलो समस्याको रुपमा रहेको बताउँछन् । कतिपय ठेक्काको बजेट अझै पनि फुकुवा भई नसकेको पनि उनले बताए ।
चैत मसान्त अघि खर्च हुन नसकेको विकास बजेट रकमान्तर समेत नहुने व्यवस्था रहेको उनले बताए । चैत लागेपछि एउटा योजनाको रकम अर्को योजनामा भएपनि खर्च गरिने भएकाले विकास बजेट अब खर्च हुने समय आएको उनले बताए ।
