सिरहा — सिरहाको मिर्चैया नगरपालिकाले शुल्क तिर्न नसकेका कारण कुनै पनि विद्यार्थीलाई एसईई परीक्षाबाट वञ्चित नगर्न निर्देशन दिएको छ । नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नगरभरिका सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।
कतिपय विद्यालयले शुल्क तिर्न नसकेकै कारण विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र दिन नमानेको गुनासो आएको भन्दै प्रवेश पत्र उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ । कुनै पनि विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराइएको खण्डमा विद्यालयलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि नगरपालिकाको छ ।
यस्तै, विद्यालयले प्रवेश पत्र नदिँदा पनि विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्न र केन्द्राध्यक्षलाई जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था नगरपालिकाले मिलाउने मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले बताए ।
