तीन किलोमिटर टाढाबाट ह्विलचियरमा आएर मतदान गरिन् विभाले 

चैत्र ५, २०८१

विद्यानन्द राम

Vivah voted from a distance of three kilometers in a wheelchair

राजविराज — शारीरिक अपाङ्गता भएकी २४ वर्षीय विभा मण्डल स्ववियुमा मतदान गर्न ह्विलचियरमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज आएकी छन् ।

जन्मिएदेखि अपाङ्गता भएकी उनी करिब ३ किलोमिटरदेखि ह्विलचियरमा आएर मंगलबार मतदान गरिन् । सप्तरीको राजगढ गाउँपालिका–४ की विभा राजविराजस्थित पुलचोकमा भाडामा बस्दै आएकी छन् ।

बीएड चौथो वर्षमा अध्ययरत विभाले मतदानपछि कान्तिपुरसँग भनिन्, ‘क्याम्पसको शैक्षिक अवस्था अत्यन्तै दयनीय छ, त्यसमा सुधार होस् भनेर अबको नेतृत्वसँग अपेक्षा राखेकी छु ।’

क्याम्पसको कमजोर शैक्षिक अवस्थाकै कारण आफ्ना साथीहरुले बाहिर भर्ना गरेको सुनाउँदै आफू भने बाध्य भएर मात्र यहि क्याम्पसमा अध्ययनका लागि बसेको उनको भनाइ छ । ‘मलाई जसरी पनि पढ्नु छ तर शारीरिक अपाङ्गताले बाहिर जाने अवस्था छैन । अनि यहिँ भर्ना भएँ,’ उनले भनिन्, ‘मूल कुरा यहाँ पठनपाठन नै नियमित छैन, तर यहिँको शैक्षिक अवस्था सुधार भयो भने मात्र मजस्ता बाहिर जान नसक्नेको भविष्य बनाउन सहयोग पुग्छ ।’

यस क्याम्पसमा बिहान ९ बजदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । कूल ३ हजार १२ जना मतदाता रहेका यस क्याम्पसमा स्ववियु सभापति पदका लागि पाँच जना चुनावी मैदानमा छन् ।

उक्त चुनावबाट सभापतिसहित प्रत्यक्षतर्फ १० र समानुपातितर्फ ९ गरी कुल १९ पदमा पदाधिकारी चयन हुने निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवले जानकारी दिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully