राजविराज — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मत खसाउन पुगेका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई नियन्त्रणमा लिइएको हो ।
मंगलबार सप्तरीसहित देशका विभिन्न जिल्लामा स्ववियु निर्वाचन भएको छ । मंगलबार बिहान ८ बजेदेखि ४६ आंगिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा सुरु भएको निर्वाचनको मतदानको अवधि दिउँसो ४ सम्म तोकिएको थियो ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि गर्ने बताए ।
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
