राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा मंगलबार बिहान आगलागीमा परी आठवटा घर जलेर निष्ट भएका छन् ।
बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको छ भने चौपायासमेत मरेका छन् ।
स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गाई गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा दुईवटा खसी र एउटा भैंसी जलेर मरेको छ । स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
यस्तै सप्तरीको राजविराज नगरपालिका ६ मा सोमबार साँझ आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । स्थानीय दुबीलाल यादवको गोठघरबाट विद्युत्को तार सर्ट भएर आगलागी हुँदा यादवको दुईवटा गोठघर, एउटा भान्सा र एउटा बस्ने घर गरी चारवटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिका र प्रहरी तालिम केन्द्रबाट आएका दुईवटा बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
