‘हामी भोकभोकै सुतेका धेरै रात छन्, गनेर साध्य छैन । कसलाई सुनाउने ? को सुन्छ, कसले बुझ्छ हाम्रो पीडा ?’
राजविराज — १४ वर्षका उनले न मिठो खान पाएका छन्, न त पढ्नै पाइरहेका छन् । आफू र आफ्ना दृष्टिविहीन आमा र दाइको बिहान–बेलुकाको छाकको बन्दोबस्तको जिम्मा छ दिपककुमार रामको कलिलो काँधमा ।
मजदुरी गरेर परिवारको गुजारा चलाउने बुबा उखम मोचीको दमको उपचार नपाउँदा ५८ वर्षको उमेरमा मृत्यु भयो । बुबाको मृत्युपछि आमा भोल्वीदेवी बेसहारा भइन् भने दिपकले बुबालाई देख्नै पाएनन् । बुबाको मृत्युपछि यो दलित परिवारले कैयौं रात भोकभोकै काट्दै आइरहेको छ ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हट टोलकी ५५ वर्षीया भोल्वीदेवीलाई अझै त्यो बेलाको सम्झना ताजै छ । भन्छिन्– ‘गरिबी जीवन र त्यसमाथि दृष्टिविहीन एकल महिला, सुत्केरीको बेला पनि छरछिमेकीसँग मागेर छाक टारिरहेँ, अँध्यारो संसारमा अरु कुनै विकल्प पनि थिएन ।’
भोल्वीदेवीले छरछिमेकमा मागेरै दिपकलाई हुर्काइन् । दीपकभन्दा माथि उनका जेठा छोरा छन् दिनेश । १७ वर्षीय दिनेश जन्मैदेखि दृष्टिविहीन हुन् ।
दृष्टिविहीनको हेरचार हुने र पढ्न पनि पाइने थाहा भएपछि दिनेशलाई दुई वर्षकै हुँदा राजविराजस्थित बालगृहमा राखिएको थियो । उनी ९/१० वर्षसम्म बालगृहमै बसे पनि । तर, पाँच वर्षअघि बालगृह बन्द भएपछि दिनेश पनि घरैमा फर्कन बाध्य भए ।
भोल्वीदेवीले मागेरै दिनेश र दिपकको गुजारा चलाउँदै आएकी थिइन् पनि । दिपकलाई घरदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयमा भर्ना गराएकी थिइन् । तर, लुगाफाटा र कापी–कलम पुर्याउन सकिनन् उनले । ‘दिपकलाई स्कुलमा भर्ना गराए पनि छाक टार्न पनि समस्या थियो,' उनले भनिन्, ‘छरछिमेकमा माग्ने ठाउँ पनि रहेन, टाढा गएर माग्न अवस्थाले साथ दिएन । अनि चाहना हुँदाहुँदै पनि हात समाएर बाटो देखाउने छोराको भविष्य डोर्याउन सकिरहेकी छैन ।’
चार/चार महिनामा आउने भत्ता (सामाजिक सुरक्षा भत्ता) पनि औषधी उपचारमै खर्चिने गरेको उनले बताइन् । ‘त्यो भत्ता दबाईमै सकिन्छ, बच्यो भने नुन, तेल र तरकारी किन्छु,’ उनले भनिन्, ‘घर पनि ऐलानीमै छ, सम्पत्तिको नाममा सियो पनि छैन ।’
आठ वर्षको उमेरमा एक कक्षामा भर्ना भएका दिपक ३ कक्षा मात्रै के पुगेका थिए । परिवारलाई छाक टार्नै मुस्किल पर्न थालेपछि उनले स्कुलै छाडेर मजदुरीको बाटो रोज्न बाध्य भएको बताउँछन् ।
‘कोही–कोही त जात सोधेर मुख बांगो पार्छन्’
शनिबार बिहान पनि माटोको चुल्होमा परालले हतार–हतारमा खाना पकाइरहेको अवस्थामा भेटिए दिपक । बिहान भएसँगै आमा भोल्वीदेवीलाई खाना पकाउनमा सघाएर कामको खोजीमा भौंतारिने दिपकको दिनचर्या नै बनिसकेको छ । तर, कलिलो उमेरका कारण प्राय दिपकलाई कसैले कामै दिँदैनन् ।
काम दिँदा पनि ३ देखि ४ सय रुपैयाँभन्दा बढी मजदुरी नै नपाएको उनी गुनासो गर्छन् । ‘पढ्ने इच्छा त छ नि तर आफूहरुलाई खानै पुगेको छैन अनि लुगाफाटा र कपी–कलम कहाँबाट किन्नसक्नु,’ उनले भने, ‘उमेर कम भएर कसै–कसैले कामै दिन रुचाइरहेका हुँदैनन्, कोही–कोही त जात सोधेर मुख बांगो पार्छन्, त्यसैले अलिक छिट्टै घरबाट निस्किन्छु अनि काम मागिरहन्छु ।’
दुई/तीन दिन काम नपाउँदा भोकभोकै रात काट्नुपर्ने बाध्यता खेप्दै आएको दिपक दुखेसो पोख्छन् । ‘हामी भोकभोकै सुतेका धेरै रात छन्, गनेर साध्य छैन, कसलाई सुनाउने ? को सुन्छन् र कसले बुझ्छन् हाम्रो पीडा ?,’ उनले भने, ‘दुःख, कष्ट र अभावपूर्ण अवस्थामा हामी बाँचिरहेका छौं ।’
ऐलानी जग्गामा ‘जनता आवास कार्यक्रम’मा पाएको अधुरो घरमा बसोबास गर्दै आएको यो दलित परिवारलाई पानी पिउन ट्युबवेल पनि छैन । ‘कल (ट्युबवेल) थियो तर बिग्रियो, ठीक पार्न ७ हजार खर्च लाग्छ अरे, पैसे नभएर कल ठीक गराउन सकिएको छैन,’ दिपकले भने, ‘आफू घरमा नहुँदा आमा र दाजुलाई अरु ठाउँबाट पानी भरेर ल्याउन ज्यादै कठिन हुन्छ ।’
अर्काको ट्युबवेलबाट पानी भरेर ल्याउनुपर्दा उनीहरुलाईलाई पिउने पानीका लागि पनि पिरलो भइरहेको छ । आफूहरुको समस्या कसैले नसुनिदिएको बताउँदै उनी भन्छन्, ‘एक त हमरा सबके दलित आ तहुमे दृष्टिविहीन परिवार, कहिया हटतै दुःखके पहाड से नइँ जाइन । (एक त हामी दलित त्यसमा पनि दृष्टिविहीन परिवार, कहिले हट्छ दुःखको पहाड, थाहा छैन ।)’
