सप्तरीको कंचनपुरमा आगलागीमा परी ८ चौपाया मरे

चैत्र २, २०८१

अवधेशकुमार झा

8 quadrupeds died in a fire in Kanchanpur of Saptari

राजविराज — सप्तरीको कंचनरुप नगरपालिका-४ कबिलासामा शनिबार साँझ आगलागी भएको छ । स्थानीय भागवत विश्वासको जस्ताको छाना भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट अचानक आगलागी हुँदा गोठसँगै एक गाई, चारवटा बाख्रा र तीनवटा पाठो जलेर मरेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 

गोठमा राखिएको पाँच क्वीन्टल धान पनि जलेको छ । शनिबार साँझ ६ बजेर २० मिनेटमा सुरु भएको आगलागी कंचनरुप नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानिय बासिन्दाहरुको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

शनिबार नै सुरुङ्गा नगरपालिका-३ स्थित सब डिभिजन वन कार्यालय लक्ष्मीपुर नजिकै रहेको जंगलमा अचानक आगलागी हुँदा कार्यालयमा थुपारी राखिएको २ लाख ५० हजार रुपैयाँ बराबरको गोलिया काठ जलेर नष्ट भएको छ । बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

अवधेशकुमार झा

Link copied successfully