घुमियो अन्तरगृह परिक्रमा, जनकपुरमा शनिबार होली

चैत्र १, २०८१

अजित तिवारी

Ghujeo Intergriha Parikrama, Holi on Saturday in Janakpur

जनकपुर — शुक्रबार बिहानै जनकपुरको अन्तरगृह परिक्रमामा हजारौंले सहभागिता जनाएका छन् । जनकपुरको वरिपरि घुमिने अन्तरगृह परिक्रमालाई पञ्चकोषी परिक्रमा पनि भनिन्छ ।

करिब १५ किमिभन्दा बढी दुरी पैदलयात्रा गरिने अन्तरगृह परिक्रमा सकिएको भोलिपल्ट मात्रै जनकपुरमा होली पर्व मनाउने परम्परा छ । त्यसैले यस वर्ष जनकपुरमा शनिबार मात्र होली हुनेछ । अन्तरगृह परिक्रमामा जनकपुरबासीको उत्साहजनक सहभागिता रहेको थियो । एकाबिहानैदेखि अन्तरगृह परिक्रमा थालिएको छ । 

नेपाल र भारतका १ सय २० किलोमिटर पदयात्रा गरेर १५ दिने धार्मिक माध्यमिकी परिक्रमा बिहीबार बिहान जनकपुर आइपुगेको थियो । परिक्रमाका सहभागीहरु जनकपुरको रंगभूमि मैदानमा दिनभर विश्राम गरेपछि शुक्रबार बिहानैदेखि अन्तरगृह परिक्रमा थालेका थिए । 

Ghujeo Intergriha Parikrama, Holi on Saturday in Janakpur

दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वाससहित परिक्रममा सहभागिता जनाउने गरिएको छ । फागुन औंसीका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा प्रारम्भ हुन्छ । 

१५ दिने परिक्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, हुँदै परिक्रमा फेरि भारत प्रवेश गर्छन् । भारतको कलना, विसौल गएर परिक्रमा फेरि जनकपुर प्रवेश गर्छन् । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully