आफूमात्र राम्रो, अरुलाई बेइमान देख्ने सिकेको नियत भएको छ : यादव
राजविराज — जनमत पार्टीले केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरेको छ । आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै पार्टीले सातदिने स्पष्टीकरण सोध्दै कोषाध्यक्षबाट निलम्बन गरेको हो ।
आइतबारदेखि महोत्तरीको बर्दिवासमा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको पूर्वसन्ध्यामा कोषाध्यक्षलाई निलम्बन गरिएको हो ।
पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेश बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा संघका पूर्वअध्यक्ष इन्जिनयर बसन्त कुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करौडौ रुपैयाँ उठाएको जनमतले कोषाध्यक्ष यादवमाथि आरोप लगाएको छ ।
पार्टीको अनुशासन समितिका सदस्य सचिव अनिताकुमारी मण्डलले कोषाध्यक्ष यादवलाई स्पष्टीकरणसहित पठाएको पत्रमा इन्जिनयरद्वय कुसवाहा र साहसँग मिलेर करौडौं रुपैयाँ उठाइ काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटेल चलाउने, जनकपुरमा घर/स्कुल चलाउने सहितका विभिन्न कारोबारहरु सञ्चालन गर्दै आएको तर सो को हरहिसाब लाभहानी उनीहरुलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि हरहिसाब क्लियर नगरी उल्टै दम्भ देखाएकोले पार्टीमाथि नै असर पुगेको उल्लेख छ ।
पार्टीको राष्ट्रिय कोषाध्यक्ष पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेको तर आफ्नो पदको अधिकांश समय संयुक्त राज्य अमेरिका, कतारसहितका अन्य देशमा बसेको, पार्टीको दैनिक गतिविधिका लागि समय दिन नसकेको, महत्त्वपूर्ण बैठक र कार्यहरुमा सहभागिता नदेखाएको, केन्द्रीय सचिावलयको बैठकमा महिनौंसम्म उपस्थित नहुने गरेको र गैर आवासीय मधेशी संघ तथा पार्टीको कोषाध्यक्षको रुपमा काम गर्दा हिसाब नदिने, हरेक पटक हिसाब हेरफेर गर्ने र झुठा हिसाब देखाउने आरोप पनि कोषाध्यक्ष यादवमाथि लगाइएको छ ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा सप्तरीको क्षेत्र नम्बर १ र २ मा केही ठूला नेता तथा कार्यकर्ताहरुलाई भड्काएर निष्क्रिय बनाउन लगाई त्यहाँका उम्मेदवार डा. जयकान्त राउत र अध्यक्ष डा. सिके राउतलाई पराजित गर्ने उदेश्यले भूमिका निर्वाह गरेको तथा बारा निर्वाचनमा पनि सोही भूमिका पुनरावृत्ति गरेको आरोप कोषाध्यक्ष यादवमाथि छ ।
आफू मात्र राम्रो, अरु बेइमान देख्ने सिकेको नियत भएको छ : यादव
जनमत पार्टीले स्पष्टीकरण दिन पत्र पठाउँदै निलम्बन गरिएका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफुलाई बदनाम गर्न डा. सिके राउतले प्रपञ्च गरेको आरोप लगाएका छन् ।
‘म माथि लगाइएका सबै आरोप गलत हुन्’, यादवले भने, ‘म पार्टीको संस्थापक हो, स्वतन्त्र मधेश गठबन्धनदेखि नै मेरो लगानी छ, खर्च मैले गरेँ, अनि अधिकार माग्दा नहुने ? सोध्यो कि पोल्यो ?’
राउतको वास्तविकता अब आम मानिसले थाहा पाउँदै जाने उनको भनाइ छ ।
उनले भने, ‘आफूमात्र राम्रो अरु बेइमान देख्ने सिके राउतको नियत भएको छ, म बाहेक कसैको पैसा लागेको छैन, पार्टी निर्माणमा । सन २००९ देखि नै पार्टीमा डोनर मै हुँ । जितेपछि मलाई उल्टै मलाई नै किनारा गर्न खोज्नुभयो ।’
उनले जहाँ–जहाँ घर किनेको आरोप आफूमाथि लगाइएको छ त्यो सबै आफ्नो व्यक्तिगत लगानी भएको बताए । पार्टीमै पाँच करोडभन्दा बढी रकम आफ्नो लगानी भइसकेको उनको भनाइ छ ।
उनले भने, ‘पार्टीमा पाँचकरोड भन्दा बढी मेरो लगानी छ । म के को हिसाब दिनु? उनी चुनाव जितेपछि मेरो नाममा कुनै बैंक अकाउन्ट छैन, डेढ दुईवर्ष देखि मसँग कुनै आर्थिक कारोबार भएको छैन, कुन हिसाब म दिनु?’
