‘पञ्चायती’ बसाउने वडा सदस्यसहित चार पक्राउ

रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी जाहेरीमा नाम किटान गरिएका चार जना अझै फरार

फाल्गुन २४, २०८१

विनय आजाद

Four arrested, including the ward member of the Panchayati

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा जोडिएका थप चार जना पक्राउ परेका छन् ।

बलात्कार घटना गाउँमै मिलाउन ‘पञ्चायती’ गरेको आरोपमा प्रहरीले वडा सदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह र राजेन्द्र मण्डललाई शुक्रबार पक्राउ गरेको हो । किटानी जाहेरीमा उल्लेख गरिएका चार जना अझै फरार छन् । 

प्रहरीले बुधबार नै सामूहिक बलात्कारका मुख्य आरोपित रूपेश मण्डललाई पक्राउ गरिसकेको छ । चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास ११ फागुनमा पक्राउ परेका थिए । उनीहरूको नाम जाहेरीमा उल्लेख नभए पनि मुख्य आरोपितसँग नजिक देखिएको र ‘पञ्चायती’ गराउन भूमिका निर्वाह गरेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले घटनामा संलग्न अन्यको खोजी भइरहेको बताए । 

रिंकु २७ माघको साँझ शौच गर्न घरछेउको खेततिर जाँदा बलात्कृत भएकी थिइन् । परिवारजनका अनुसार उनी कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे घर फर्केकी थिइन् । पेट समातेर रोइरहेको देखेर आमाले सोधखोज गर्दा आफू बलात्कृत भएको उनले सुनाएकी थिइन् । शौच गरिरहेका बेला अचानक रूपेश आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा अरू आएर करेसाबारीमा लगी पालैपालो करणी गरेको उनको भनाइ थियो ।

गाउँमा हल्ला भएपछि पीडितलाई प्रहरीमा पठाउनुको साटो मिलाउन गाउँमै पञ्चायती गरिएको थियो । करिब ३० स्थानीयको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ५१ हजार रुपैयाँ रिंकुको परिवारलाई दिने र पीडितको परिवार प्रहरीमा नजाने निर्णय सुनाएको थियो । त्यसपछि रूपेशका आफन्तले आग्रह गरेपछि जरिवाना एक लाख ४० हजारमा झारिएको थियो । 

पैसा तिर्ने विषयमा आरोपितका आफन्तबीच नै विवाद चर्किएर कुटाकुटसमेत भएको थियो । अर्कातिर पीडितलाई दिने भनिएको रकम पनि पञ्चायतीका अगुवाले बाँडचुँड गर्न खोजेका थिए । विवाद भएर घटना थप जटिल बन्न पुगेको र छिटो मिल्न पीडक पक्षबाट तारन्तर धम्की आइरहेको अवस्थामा रिंकु ३० माघमा आफ्नै घरमा भुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully