राजतन्त्र फर्काउने मुर्खता गरे बचेको साख पनि समाप्त पार्ने चेतावनी
रौतहट — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजदरबारबाट बाहिरिने बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुको साटो आराम गर्न दिएको भन्दै त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।
‘त्यतिबेला जनताले उदारतापूर्वक कारबाहीको साटो आराम गर्न दिएका हुन्,’ उनले भने, ‘यसलाई कमजोरी नठानियोस् । राजनीति गर्न मन भए पार्टी खोलेर आए हुन्छ । चुनाव लडे हुन्छ । त्यो संविधानले व्यवस्था गरेकै छ ।’
‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहट आएका अध्यक्ष दाहालले शनिबार गरुडामा पत्रकारहरुसँग कुरा गर्दै देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए । ‘राजा आउने भन्ने हल्लाखल्ला मात्रै हो,’ उनले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे नेपाली जनताले सहँदैनन् ।’
उनले विगतमा पूर्वराजा ज्ञानेन्द्रले केही ठूल्ठूला गल्तीहरु गरेको भन्दै अहिले राजतन्त्र फर्काउने मुर्खता गरिरहेको टिप्पणी गरे । ‘उनले पहिले पनि ठू–ठूला गल्ती गरेका छन्, त्यसलाई म त मुर्खता भन्छु,’ दाहालले भने, ‘अब अहिले पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् ।’
यस्तै अध्यक्ष दाहालले कुलमानले प्राधिकरणलाई घाटाबाट नाफामा ल्याएको हुनाले उनलाई सरकारले सिध्याउन खोजेको बताए । ‘सरकार उल्टो काममा लागेको छ, यो दुर्भाग्य हो,’ उनले भने ।
तराई–मधेश जागरण कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल शुक्रबार राति रौतहट आएका हुन् । शनिबार उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
