जनकपुर — मधेश प्रदेश सरकारको आवासीय क्षेत्रसमेत रहेको मधेश भवन परिसरमा मधेशी सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मधेशी सहिद प्रतिष्ठानका सदस्य अन्दाजी ४० वर्षीय यादव मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
‘राति बेडरुम सुत्न गएका थिए । बिहान हेर्दा मृत फेला परेका हुन्,’ डीएसपी सिंहले भने, ‘नाकबाट हल्का रगत बगेको छ । बोमिट पनि गरेका छन् । रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ ।’
जनकपुर–चुरोट कारखानाभित्र रहेको सरकारी निवासमा बसिरहेका यादवको बेडरुम छेउको कोठामा एक जना १४ वर्षका सहयोगी पनि थिए । उनीसित पनि धनुषा प्रहरीले सोधपुछ गरेको छ ।
‘घरभित्रको अवस्थामा हेर्दा मृत्युको अरु कारण देखिएको छैन,’ डीएसपी सिंहले भने, ‘रिपोर्ट आएपछि मृत्युको अनुसन्धान अगाडि बढ्नेछ ।’ मृतक यादवको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
मधेश प्रदेश सरकारले गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहत मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ । विभिन्न आन्दोलन र परिवर्तनका घटनामा सहादत दिएका सहिद परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठानको गठन गरिएको हो ।
