एकैसाथ १४ विद्यार्थी बेहोस  

फाल्गुन १९, २०८१

शंकर आचार्य

14 students fainted simultaneously

पर्सा — कालिकामाई गाउँपालिका–४ कट्टी बलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार एकैसाथ १४ छात्रछात्रा बेहोस भएका छन् । बिहान १० बजेर १० मिनेटमा विद्यालयमा प्रार्थनाको समयमा कक्षा ६ की एक छात्रा सबैभन्दा पहिले बेहोस भएर लडेकी थिइन् । 

उनलाई विद्यालयको कार्यकक्षमा प्राथमिक उपचार सुरु गरे लगत्तै क्रमशः अन्य कक्षाका छात्रा पनि बेहोस हुने क्रम बढेको थियो । विद्यालयका प्रधानाध्यापक इनरदेव पटेलले कक्षा ९ का एक छात्र पनि आफ्नो कक्षामै बेहोस अवस्थामा फेला परेको बताए ।  

‘१३ छात्रा र एक जना छात्र बेहोस भएका थिए,’ उनले भने, ‘समस्या बढ्दै गएपछि नजिकको स्वास्थ्य चौकीमा उनीहरुलाई उपचारार्थ भर्ना गर्‍यौं ।’ कक्षा ६ देखि ९ सम्मका विद्यार्थी यसरी बेहोस भएका हुन् । 

स्वास्थ्य चौकीले रिफर गरेपछि सबैलाई नजिकको सुविधा सम्पन्न  पोखरिया अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो । तीमध्ये छात्रको अवस्था नाजुक बनेपछि उनलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना गरी उपचार भइरहेको पटेलले बताए । 

‘अन्य छात्राहरुको अवस्था सामान्य छ,’ उनले भने, ‘ती छात्रा अस्पतालबाट घर फर्किसकेका छन् ।’ 

एकै साथ छात्रछात्रा बेहोस हुने कारणबारे पोखरिया अस्पतालका चिकित्सकलाई सोध्दा स्पष्ट कारण बताउन नसकेको प्रधानाध्यापक पटेलले बताए । ‘कहिलेकाहीँ आफ्ना साथी–सहपाठी अचानक बिरामी पर्दा अन्यलाई पनि त्यसको मनोवैज्ञानिक असर पर्न सक्छ,’ उनले भने, ‘चिकित्सकले पनि यस्तै अनुमान मात्र गरे ।’ 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully