सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले गरे बाटो बन्द

फाल्गुन १७, २०८१

अवधेशकुमार झा

Locals closed the road saying that there was a delay in the construction of the road

राजविराज — राजविराज- हनुमाननगर-भारदह सडक निर्माणमा ढिलाइ भएको भन्दै तत्काल सड़क निर्माण थाल्न स्थानीय बासिन्दाहरुले सो सडक खण्डको झल्हीमा शनिबार बिहानदेखि सडक अवरुद्ध गरेका छन् ।

स्थानीयले सडक अवरुद्ध गरेपछि यो सडक खण्ड भएर सञ्चालन हुने सवारी साधन रोकिएका छन् । निर्माणका लागि तोकिएको समय सकिएको र थपिएको म्याद सकिन लाग्दा पनि सड़क निर्माणमा तदारुकता नदेखिएपछि सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन् । 

यसअघि सो सडक निर्माणको माग गर्दै तोपा र मंसापुरमा पनि पटक–पटक स्थानीयले अवरुद्ध बनाएका थिए । सडक डिभिजन कार्यालय लहानले गरेको टेन्डरअनुसार साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा ठेक्का कबोल गरी २०७९ असार २३ मा निर्माणको सम्झौता गरेको थियो । 

२०८१ असारभित्र निर्माण सक्नुपर्ने सडक सुरु भए पनि कामले गति लिन सकेन । कार्यालयले फेरि एक वर्षको ठेक्का म्याद थप गरेको थियो । म्याद थपपछि पनि ठेकेदारले काममा भने तीव्रता दिएका छैनन् । यस सडकको अहिलेसम्म भौतिक प्रगति १५ प्रतिशत मात्र भएको छ ।थपिएको म्याद सकिनै झन्डै साढे ४ महिना बाँकी रहँदा १५ प्रतिशत मात्र काम हुनुले सडक निर्माणको सुस्ततालाई प्रस्ट्याएको छ ।

अवधेशकुमार

Link copied successfully