अवैध रूपमा सञ्चालित बर्दिबासका पाँच अस्पताल बन्द

फाल्गुन १७, २०८१

सुनिता बराल

Five illegal hospitals in Bardibas closed

महोत्तरी — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बर्दिबासका पाँच अस्पताल बन्द भएका छन् । अनुगमनका क्रममा अवैध देखिएको भन्दै मुख्यमन्त्रीले अस्पताल बन्द गर्न निर्देशन दिएपछि ती अस्पताल शनिबारदेखि बन्द भएका हुन् ।

बर्दिवास–१ स्थित बजार क्षेत्रमा सञ्चालित पिनाकल हस्पिटल, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि र खोमुसरा डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन अनुमति नलिएको र कागजपत्र चुस्त नदेखिएको भन्दै मुख्यमन्त्री सिंहले तत्काल अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।

शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पताल अनुगमन गर्दै पाँच अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन् ।

बन्द भएका अस्पताललाइ कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएर मात्र सञ्चालनमा आउन निर्देशन दिएका छन् ।

त्यस्तै,अनुगमन गरिएका अन्य जनसेवा हस्पिटल प्रालि, डीएबी मेडिकेयर सेन्टर र  महेन्द्र डेन्टल क्लिनिक प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न सिंहले निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully