नापी र मालपोत कार्यालय उद्घाटन गर्न ५ मन्त्रीको लस्कर

फाल्गुन १५, २०८१

शंकर आचार्य

A procession of 5 ministers to inaugurate the surveyor and cargo office

पर्सा — नापी र मालपोत कार्यालयको उद्घाटन गर्न कति जना भीआईपी भए पुग्ला ? जवाफ आउँछ– बढीमा एक । अझ कतिपयले यो प्रश्न सुनेपछि नापी र मालपोत कार्यालयको उद्घाटन गर्नलाई मन्त्री नै किन आउनु पर्छ र भनेर पनि प्रतिप्रश्न गर्छन् । 

बिहीबार पर्साको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालयको उद्घाटन समारोहमा एक नभई पाँच–पाँच मन्त्रीको लस्कर नै लागेको थियो । संघीय सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ती कार्यालयको उद्घाटन गरेका हुन् । 

समारोहमा संघीय सरकारकै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री र युवा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल पनि सहभागी थिए । 

पोखरिया नपा–९ स्थित एउटा धर्मशालामा नापी र अर्को धर्मशालामा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोत कार्यालय परिसरमा उद्घाटन समारोह आयोजना गरिएको थियो । 

समारोहलाई पाँचै मन्त्रीले सम्बोधन गरेका थिए । तर श्रोता भने मुस्किलले २ सय थिए । ती मध्ये पनि ८० को हाराहारी कर्मचारी नै थिए । ‘६० जना पोखरिया नगरपालिकाका नगर प्रहरी नै परिचालित थिए,’ एक स्थानीय सञ्चारकर्मीले भने, ‘बाँकी सोही नगरपालिकाका कर्मचारी र छेउछाउका स्थानीय तहका कर्मचारी थिए ।’ 

पोखरिया नगरपालिकाको कार्यालयले आयोजना गरेको उद्घाटन समारोहमा संघीय सरकारका पूर्वविज्ञान तथा प्रविधि मन्त्री सुरेन्द्रप्रसाद चौधरी, मधेश प्रदेश सभा सदस्यद्वय श्याम पटेल र बिना शर्मा, पूर्व संघीय सांसदद्वय बिचारी यादव र हरिनारायण रौनियारसमेत सहभागी थिए । 

दिउँसो २ देखि साँझ ५ बजेसम्म चलेको कार्यक्रममा यसरी ५ जना मन्त्री फुर्सदिलो बनी बसेका थिए । 

जिल्लाको मध्य भागमा रहेको र महत्त्वपूर्ण मानिने पोखरिया नगरपालिकामा सेवा केन्द्रको रूपमा नापी र मालपोत कार्यालयको स्थापनाको माग स्थानीयले लामो समयदेखि गर्दै आएका थिए । कार्यालय आउने भएपछि त्यसको जस लिन हानाथाप भएको र त्यसकै परिणाम उद्घाटन कार्यक्रममा मन्त्री र सांसदको लस्कर लागेको धेरैले अडकलबाजी गरेका छन् । 

संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीबाहेक कार्यक्रममा सहभागी अन्य संघीय मन्त्री, प्रादेशिक मन्त्री, प्रादेशिक सभा सदस्य, पूर्वमन्त्री, पूर्वसंघीय सांसद सबै पर्साकै हुन् । 

पोखरियामा लामो समयदेखि सरकारी कार्यालय स्थापना गराउन संघर्ष गरेको ‘कार्यालय स्थापना संघर्ष समिति’ का संयोजक निजामुद्दिन समानी पोखरियामा सरकारी कार्यालय आउनु स्वागतयोग्य भए पनि त्यसको जस लिन कांग्रेस र एमालेका मन्त्री तथा नेताहरूबीच होडबाजी चल्नु गलत भएको बताए । ‘यी कार्यालय आउनुमा स्थानीयको लामो संघर्ष पहिलो कारण हो,’ उनले भने, ‘मन्त्री र नेताजीहरूको सहयोग र समर्थन नरहेको होइन, तर उनीहरूले सबै जस आफैंले लिन खोज्नु चाहिँ गलत हो ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully