बिरामी मृत्यु प्रकरण : सम्पर्कमा छैनन् प्रादेशिक अस्पतालका चिकित्सक

निष्पक्ष छानबिनको लागी पीडितको माग

फाल्गुन १४, २०८१

शिव पुरी

Patient death case: Doctors of provincial hospital are not in contact

रौतहट — प्रादेशिक अस्पताल गौरमा उपचारका लागि आएका बिरामीलाई उपकरणको अभाव भन्दै निजीमा पठाउने तीन जना चिकित्सकलाई अस्पताल प्रशासनले २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि उनीहरूले अहिलेसम्म पत्र बुझेका छैनन् ।

उनीहरू सम्पर्कविहीन भएकाले अस्पतालले स्पष्टीकरणको पत्र इमेल र हुलाकमार्फत पठाउने तयारी गरेको छ । गएको शनिबार दिउँसो प्रादेशिक अस्पताल गौरमा उपचारका लागि आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको थियो ।

घटना पछि चिकित्सकको लापरबाही भन्दै कारबाहीको माग राखेर पीडित परिवारले प्रहरी प्रशासन गुहारेका थिए । घटनाको निष्पक्ष छानबिनका लागि पीडित परिवारले दबाब दिएपछि अस्पतालले सोमबार चिकित्सकलाई स्पष्टीकरण सोधेको थियो । तर, पत्र भने तीनै जना चिकित्सकले बुझेका छैनन् । उनीहरू अस्पताल समेत आएका छैनन् । तीनै जना करारका चिकित्सक हुन् ।

प्रादेशिक अस्पताल गौरले चिकित्सक डा. पंकज साह, डा. फिरोज अन्जुम र डा. घनश्याम ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । घटनापछि चिकित्सकहरू सम्पर्कविहीन रहेको अस्पतालका अध्यक्ष अनवर हास्मीले जानकारी दिए । ‘तीनै जना चिकित्सकलाई बिरामीलाई कुन अवस्थामा रिफर गरियो, लापरबाही हो/होइन भन्ने विषयमा स्पष्टीकरण सोधेको हो,’ उनले भने, ‘पत्र बनाएर तयार राखेका छौँ । तर उहाँहरू सम्पर्कमा हुनुहुन्न । सबैको मोबाइल अफ छ । हामी हुलाक र इमेलबाट पत्र पठाउँछौँ ।’

गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको शल्यक्रिया गर्दा मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै पीडितका आफन्तले छानबिनको माग गरेका हुन् । मृत्यु भएका अधिकारीको शल्यक्रिया गरिएको गौर सेन्ट्रल अस्पतालले मंगलबार विज्ञप्ति निकालेर दुःखद घटना भएको भन्दै पीडित परिवारसँग माफी मागेका छन् ।

गएको शनिबार दिउँसो अधिकारीलाई पेट दुखेर उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । त्यहाँ केही परीक्षण गराएर अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए ।

मृतकका काका देवेन्द्र अधिकारीका अनुसार डा. ठाकुरले अस्पतालमा शल्यक्रियाका लागि आवश्यक एनेस्थेसिया (बेहोस बनाउने) चिकित्सक नभएको भन्दै अर्का डा. पंकज साहसँग सम्पर्क गर्न भनेका थिए । डा. साहले नै गौर सेन्ट्रल अस्पताल लैजान भनेको पीडितको भनाइ छ । सरकारीबाट निजीमा लगेर चिकित्सक साह आफैँ शल्यक्रिया गर्न पुगेका थिए । उनले शल्यक्रिया गरेपछि बिरामीको अवस्था झन् गम्भीर भएको थियो । त्यसपछि बिरामीलाई राति नै नेशनल मेडिकल कलेज वीरगन्ज लगिएको थियो । मेडिकल कलेजमा चिकित्सकले बिरामी मृत्यु भएको जानकारी गराएको थियो । अधिकारीको मृत्युपछि प्रादेशिक अस्पताल र निजी गौर सेन्ट्रल अस्पतालका चिकित्सकलाई कारबाहीको माग राखेर पीडित परिवारले प्रशासन गुहारेका छन् ।

वीरगन्जबाट शव ल्याएर पीडितले घटनाको निष्पक्ष छानबिन र लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाहीको माग राखेर जिल्ला प्रहरी गौरमा अनुरोध गरेका छन् । ‘मेरो भतिजा लालुको चिकित्सक पंकज साहले शल्यक्रिया होइन हत्या गरेको हो,’ काका देवेन्द्रले भने, ‘यसलाई शल्यक्रिया भन्न मिल्दैन यो हत्या नै हो । गौर प्रादेशिक अस्पतालबाट किन निजीमा रिफर गरियो । लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्छ ।’

उनले शल्यक्रियामा संलग्न चिकित्सक फिरोज अन्जुम, पंकज साह र प्रादेशिक अस्पतालका घनश्याम ठाकुरविरुद्ध अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरीलाई अनुरोध गरेका छन् । प्रादेशिक अस्पतालबाट बिरामीलाई निजीमा लगेपछि चिकित्सक पंकज साह त्यहाँ पुगेका थिए । उनले तत्कालै पेटको ठूलो हिस्सा चिरेर सिलाएको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको थियो । चिकित्सक साह निजी गौर सेन्टर अस्पतालमा समेत कार्यरत थिए । त्यही कारण उनले बिरामीलाई वीरगन्ज रेफर गर्न छाडेर आफ्नैमा लगेको आरोप पीडित परिवारले लगाएका छन् ।

प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले घटनाबारे छानबिन भइरहेको बताए । ‘हामी कहाँ बिरामी लट्ठ्याउने मेसिन भए पनि एमडी गरेको चिकित्सकको अभावले जटिल शल्यक्रियाका बिरामीहरूलाई वीरगन्ज रेफर गर्न बाध्य हुँदै आएका छौँ,’ उनले भने, ‘प्रादेशिक अस्पतालबाट निजीमा कसले किन बिरामी पठायो, भन्ने अनुसन्धानकै विषय हो ।’

उनका अनुसार अस्पतालमा बिरामीलाई शल्यक्रियाका लागि बेहोस बनाउनका लागि आवश्यक मेसिन भए पनि एनेस्थेसियामा एमडी गरेका चिकित्सक डा. उज्ज्वल ठाकुरको एक महिना अघि सरुवा भए पछि प्रादेशिक अस्पतालमा कोही आएका छैनन् । सोही कारण शल्यक्रिया गर्नुपर्ने जटिल बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully