सिरहा — मधेशमा पछिल्लो समय विवाह भड्किलो बनेको छ । खासगरी बेहुली पक्षका लागि विवाह निकै महँगो र चिन्ताको विषय बन्दै आएको छ । यस्तो अवस्थामा सिरहाको मिर्चैयामा सोमबार सम्पन्न एक विवाहमा भने विल्कुलै फरक दृश्य देखियो ।
जहाँ बेहुलीको परिवारका सदस्य र आफन्त मात्र होइन, उनीहरु जत्तिकै सक्रिय देखिन्थे समाजका अन्य व्यक्तिहरु पनि । मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा टोलमा भएको यो विवाहमा स्थानीयले भौतिक रुपमा उपस्थित भएरमात्र सघाएनन्, आर्थिक सहयोग पनि गरे ।
स्थानीय दलित समुदायका रामअशिष महरा आर्थिक रुपले कमजोर हुन् । उनको स्वास्थ्य पनि अनुकूल छैन । कक्षा १२ को पढाई सकेपछि उनकी छोरी निर्मला महराको गणेशमान चारनाथ नगरपालिका १ स्थित छघरियाका प्रदीप महरासँग विवाह तय भयो ।
विवाह तय भएको जानकारी पाएपछि स्वस्फूर्त रुपमा सहयोगका लागि अगाडि सरेका स्थानीयहरुले यो टोलसहित मिर्चैयाका अन्य करिब ६० जना व्यक्तिहरुसँग करिब दुई लाख रुपैयाँ र वैवाहिक सामग्री संकलन गरेर निर्मलाको परिवारलाई सहयोग गरे ।
‘रामअशिषजी बिरामी हुनुहुन्छ, उहाँको आर्थिक स्थिति कमजोर छ,’ स्थानीय प्रदीपकुमार तिवारीले कान्तिपुरसित भने, ‘त्यसैले विवाहमा आफूहरुले पनि सहयोग गर्नुपर्छ भन्ने लागेर हामीले सहयोग गर्यौं, किनकि छोरी भनेको समाजको गहना हो, छोरी कोही एक जनाको हुँदैन, सिंगो समाजको हुन्छ ।’
यो विवाहले समाजमा सामूहिकताको भावना पनि झल्काएको र यसलाई संस्कारको रुपमा विकास गर्न मद्दत पुग्ने उनको विश्वास छ । यहाँका स्थानीयदेखि जनप्रतिनिधि, व्यापारी, शिक्षकलगायतले यो विवाहमा आर्थिक र भौतक रुपमा उपस्थित भएर सहयोग गरेको स्थानीय दिलिप साहले बताए ।
समाजका व्यक्तिहरुले आफैं अग्रसरता लिएपछि आफूलाई धेरै सहज भएको रामअशिष बताउँछन् । ‘हाम्रो लागि विवाह त चिन्ताकै विषय हुन्छ,’ उनले भने, ‘तर, मेरो छोरीको विवाहमा समाजले मलाई धेरै तनाव हुन दिएन, म नतमस्तक छु ।’
