सिरहामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

फाल्गुन ११, २०८१

विनय आजाद

Two people died in a road accident in Siraha

सिरहा — सिरहामा सवारी दुर्घटनामा परी एकैदिन दुई जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न दुई स्थानमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार, मिर्चैया नगरपालिका-७ स्थित राजमार्गमा राकिराखेको प्र २–०१–००१ ख ००३६ नम्बरकोे ट्रकमा बिहान ६ बजे कटारीबाट मिर्चैयातर्फ आइरहेको प्र ३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किएको थियो ।

यस दुर्घटनामा पिकपका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घाइते छन् ।

सागरलाई स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यसैगरी, आइतबार बिहान ११ बजेको समयमा धनगढीमाई नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा कसहाबाट लहानतर्फ जाँदै गरेको प्र २-०१-००१ ख ०१२१ नम्बरको टिपरले पछाडिबाट प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगेकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully