राजविराज — सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवनमा उपप्राध्यापक तथा कर्मचारीहरुले लगाएको ताला शनिबार खुलेको छ ।
जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वदलीय-सर्वपक्षीय छलफलमा उपप्राध्यापक र कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकार र विश्वविद्यालयका कुलपति, उपकुलपतिलाई आग्रह गर्ने तथा विश्वविद्यालयका अन्य समस्याहरु सिनेट बैठकबाट समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमतिपछि आन्दोलनरत पक्षले ताला खोलेको हो ।
छलफलमा छोटो समय उपस्थित भएका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले फागुन २० मा बस्ने सिनेटको बैठकले समस्या समाधानमा ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।
गत भदौदेखि तलब नपाएको भन्दै मधेश कृषि विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक र कर्मचारीहरुले फागुन १ गते प्रशासनिक र शैक्षिक भवनमा तालाबन्दी गरेपछि पढाई प्रभावित भएको थियो ।
