राजविराज — भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कंचनरूप नगरपालिका ७ का लिलावती चौधरी र परसुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए ।
घटनामा सातजना गम्भीर घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ ।
घाइतेहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताए ।
