चरेससहित महिला पक्राउ 

फाल्गुन ८, २०८१

शंकर आचार्य

Woman arrested with hashish

पर्सा — प्रहरीले वीरगन्जबाट एक महिलालाई चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्षीया आरती देवी छन् । 

प्रहरीले उनलाई बुधबार राति ८ बजे वीरगन्ज– १६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो । इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियमित जाँचको क्रममा नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई जाँच गर्दा यादवको साथबाट उक्त लागूऔषध बरामद भएको थियो । 

उनले बोकेको झोलामा रातो रङको ग्यालेनभित्र प्लास्टिकमा स-साना पोकामा लुकाइछिपाई राखिएको ११ किलो ४ सय ग्राम चरेस फेला परेको थियो । उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सुवास भट्टले जानकारी दिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully