छोटी भन्सार खुलाउने र चारचक्के गाडी सञ्चालन गर्न दिने आश्वासनपछि स्थानीयले तोडे अनशन

फाल्गुन ८, २०८१

शिव पुरी

Locals broke their hunger strike after the promise of opening small customs and allowing four-wheelers to operate

रौतहट — बन्द गरिएका छोटी भन्सार सञ्चालन र चारचक्के गाडी चलाउन दिनुपर्ने माग राखेर आमरण अनशन बसेका परोहा नगरपालिका–९ रामपुरखापका स्थानीयले प्रमुख जिल्ला अधिकारीको मौखिक सहमतिपछि बिहीबार अनसन स्थगन गरेका छन् । 

रामपुरखापस्थित बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनसँगै चारचक्के सवारी निर्बाध चल्न पाउनुपर्ने माग राखेर स्थानीयले बुधबार साँझबाट अनशन सुरु गरेका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चारपांग्रे सवारी सञ्चालन र भन्सार नाका सञ्चालनको विषयलाई व्यावहारिक रुपमा हेर्ने मौखिक आश्वासन दिएपछि अनसन फिर्ता लिएको अनशनकारी जगतलाल यादवले जानकारी दिए ।

उक्त नाका भएर सीमापारि जाने र आउने चारचक्के सवारीलाई स्थानीय प्रशासनले रोक लगाएको थियो । गौर भन्सारको मुख्य नाका बाहेकबाट आउनजान रोक लगाएपछि स्थानीयले विरोध जनाएका हुन् । माओवादी युद्धका बेला सुरक्षाको कारण जनाउँदै रामपुर खाप छोटी भन्सार बन्द भएको थियो । त्यसपछि उक्त नाकाबाट आउनेजाने सवारी र समान भन्सार राजस्व काट्न गौर नै पुग्नुपर्ने बाध्यता थियो ।

परोहा–९ रामपुरखापस्थित नेपाल भारत सीमावर्ती क्षेत्रभन्दा ५० मिटर नेपाली सीमा क्षेत्रमा टेन्ट राखेर स्थानीयले आमरण अनसन सुरु गरेपछि प्रशासनको टोली त्यस क्षेत्रमा बिहान पुगेको थियो । काग्रेस नेतृ अञ्जु झाले छोटी भन्सार खोल्नेतिर स्थानीय प्रशासनले चासो नदेखाएको र चारचक्के सवारीमा रोक लगाएर स्थानीयलाई दु:ख दिएको आरोप लगाइन् । 

भारतसँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका–१, २ र ४ तथा परोहा नगरपालिकाको ९ नम्बर वडासहितका सीमानाकाबाट चारचक्के सवारी आवतजावत गर्दै आएकामा प्रशासनले रोक लगाएको थियो । स्थानीयले गत पुस ७ गते प्रमुख जिल्ला अधिकारी र भन्सार कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका थिए । प्रशासन र भन्सारले बेवास्ता गरेकाले अनशन बस्नुपरेको स्थानीयको भनाइ छ ।

तत्कालीन माओवादी जनयुद्धका बेला सुरक्षाको कारण देखाउदै ‘मर्ज’ गरिएको छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आएको छैन । सुरक्षा थ्रेट बढेपछि विस्थापित यहाँका ५ वटा छोटी भन्सार बन्द छन् । अहिले सदरमुकाम गौर भन्सारबाहेक अरु सञ्चालनमा छैन । भारतसित सीमा जोडिएको रामपुरखाप, बंकुल, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय डेढ दशकदेखि बन्द छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully