बारा — अमेरिकामा पाँच दशकदेखि बस्दै आएको अग्रवाल परिवारले १२ करोड खर्चेर कलैया-१ स्थित जिल्लाकै सबभन्दा पुरानो राणाकालीन श्री ३ चन्द्र उच्च माविको भवन निर्माण गरेको छ ।
अग्रवाल परिवारले अमेरिकामा सञ्चालन गर्दै आएको द अग्रवाल फाउन्डेसनमार्फत २८ कोठाको तीनतले दुई वटा भवन बनाइदिएको हो । भवन निर्माणपछि कलैयावासी र स्थानीय सरकारका जनप्रतिनिधि उत्साही देखिएका छन् ।
भवनको उद्घाटन फाउन्डेसनका अध्यक्ष डा. बजरंग अग्रवालले गरेका थिए । परिवारसहित कलैया आइपुगेका अग्रवाल परिवारलाई स्थानीयले बजार परिक्रमा गराउँदै विद्यालयबाट सम्मान गरेका थिए । भवन निर्माण गर्न फाउन्डेसनले झन्डै १२ करोड खर्चेको कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले बताए ।
१९८४ वैशाख १९ मा स्थापना भएको उक्त विद्यालयको नाम श्री ३ चन्द्र मिडिल स्कुल थियो । नवनिर्मित भवनमा डा. बजरंग अग्रवाल सुमित्रा देवी शिक्षालय नाम राखिएको छ । प्रधानाध्यापक नरेन्द्र गिरीका अनुसार नेपाली र अंग्रेजी गरी दुई भाषामा पढाइ भइरहेको विद्यालयमा बालविकासदेखि माध्यमिक तहसम्म २६ सय विद्यार्थी छन् । विद्यालय भवन जीर्ण भएपछि आफू पढेको र जन्मेको भूमिमा स्मरणका लागि परिवारले विद्यालय निर्माणमा फाउन्डेसनमार्फत सहयोग गरेको फाउन्डेसनका अध्यक्ष डा. अग्रवालले बताए ।
फाउन्डेसनले कलैयामै १९९६ सालमा स्थापित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका छात्रछात्राका लागि ५५ लाख सहयोगमा १२ कोठाको तीनतले छात्रावास भवन पनि बनाइदिएको विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीले बताए ।
