दर्ताबिनै शल्यक्रिया गर्ने अस्पताल बन्द, अटेरी गर्ने सञ्चालक पक्राउ
जनकपुर — गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गराएकी सर्लाही हरिपूर्वा नगरपालिका–५ की पविताकुमारी राय यादव अझै अचेत छिन् । उनी बेहोसीमै हुँदा उनको उपचार गरिएको जनकपुरस्थित मुस्कान अस्पताल भने दर्ता बिना नै सञ्चालनमा रहेको भेद खुल्यो ।
अस्पतालका डा. ज्ञानकुमार साह नेतृत्वको टिमले शल्यक्रिया गरेपछि होस नखुल्दा यादवलाई लामो समय भेन्टिलेटरमा राखेको अस्पतालले अन्त लैजान रेफर गरिदियो । त्यसपछि जनकपुरकै जानकी हेल्थकेयरमा सिटिस्क्यान गर्दा स्नायुमा समस्या देखिएको भन्दै यादवलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यहाँ पनि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उपचारमा बदमासी र चर्को शुल्क असुल्ने आरोप खेपिरहेको मुस्कान अस्पताल दर्ता बिनै सञ्चालनमा आएको पाइएको छ । यो मात्र होइन यहाँका अधिकांश निजी अस्पतालहरु दर्ताबिनै सञ्चालित छन् ।
बिरामीको जीवनसँग खेलवाड हुन थालेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अहिले आफैं निरीक्षणमा लागिपरेका छन् । मुख्यमन्त्रीको निरीक्षणपछि निजी अस्पतालमा बिरामीमाथि हुने लापरबाही र अस्पतालका गुणस्तरीयताको विषय खुल्न थालेका छन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनधिकृत सञ्चालित जनकपुरका दुई निजी अस्पताललाई त्यहाँ भर्ना रहेका बिरामीलाई अन्य अस्पतालमा सार्न निर्देशन दिए । पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्द चोकस्थित जनकपुर गोल्डेन अस्पतालका सञ्चालकलाई अस्पताल बन्द गरी अस्पताल सञ्चालनका लागि अनुमति लिने प्रक्रियामा जान निर्देशन दिए ।
यादवको शल्यक्रिया गर्ने मुस्कान अस्पताल अहिले बन्द गरिएको छ । यस्तै निर्देशन अटेरी गर्ने जनकपुरको भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक रामभरोस महतोलाई धनुषा प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।
जनकपुरको जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्द चोकस्थित सुरक्षा अस्पताललाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर हुन भनिएको छ । जनकपुरकै वंशी चोकस्थित हिरा अस्पताललाई भने आकस्मिक कक्षको बेड संख्या कम गर्न भनिएको छ ।
सेवा सञ्चालन अनुमति प्राप्त स्वास्थ्य संस्थाले कूल शैय्याको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्नसक्ने प्रावधान छ । तर, जनकपुरका अधिकांश अस्पतालले अनुमति प्राप्त बेड संख्याको अनुपात नमिलाई बढी संख्यामा आकस्मिक कक्षमा बेड राखेको पाइएको छ ।
जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरमा बग्रेल्ती खोलिएका निजी अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले लगातार दबाब बढाएका छन् । मुख्यमन्त्री सिंह, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंह, स्वास्थ्य मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीको लगातारको निरीक्षणमा जनकपुरका अधिकांश निजी अस्पताल संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालनमा रहेको खुलेको हो ।
मुख्यमन्त्री सिंहले स्वीकृति प्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन,’ मुख्यमन्त्री सिंहले भने,‘स्वीकृति लिनुस्, अस्पताल राम्रोसँग चलाउनुस । होइन भने बन्द गर्नुस् ।’ स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले आकस्मिक, औषधि, बहिरंग तथा अन्तरंग कक्ष, ल्याब, एक्सरे, प्रसूति कक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रिया लगायत विषयमा अनुगमन गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा निजी अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भए पनि अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएका, जनस्वास्थ्य नियमावलीले तोकिएका मापदण्डअनुसार भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाटै अस्पताल फार्मेसी सञ्चालन भएका, धेरैजसोमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी नदेखिएको मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहले जानकारी दिए ।
